अष्ट्रेलिया, १७ फागुन ।
अष्ट्रेलियाको न्यू साउथ वेल्समा आयोजित एनएसडब्लु स्टेट अल स्टाईल कराते च्याम्पियनसिप २०२६ मा एभरेस्ट मार्शल आटर्स एकेडेमीले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको छ । प्रतियोगितामा एकेडेमीले दुई स्वर्ण र एक रजत पदक जित्दै उल्लेखनीय प्रदर्शन गरेको हो ।
एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले मेन्स भेट्रान (३०–४० वर्ष) समूहमा उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण पदक जिते । त्यसैगरी, सिनियर महिला ७५ केजी तौल समूहमा लक्ष्मी भट्टले शानदार प्रदर्शन गर्दै अर्को स्वर्ण पदक आफ्नो नाममा दर्ज गरिन् । उदीयमान खेलाडी आयत महर्जनले ८–९ वर्ष उमेर समूहको जुनियर विधामा कडा प्रतिस्पर्धाबीच रजत पदक जित्दै भविष्यका सम्भावनाशील खेलाडीका रूपमा आफूलाई स्थापित गरेका छन् ।
नेपाल कराते महासंघ राष्ट्रिय रेफ्री कमिसनका सचिव कृष्णप्रसाद देवकोटाले अन्तराष्ट्रिय स्तरमा एकेडेमीको यो उपलब्धि ऐतिहासिक भएको बताए । पहिलो सहभागितामै तीन पदक जित्नुले विदेशमा पनि नेपाली मार्शल आट्र्सको स्तर थप उचाइमा पुग्ने संकेत दिएको उको दाबी छ ।
खेलाडी तथा प्रशिक्षकहरूको कडा परिश्रम, अनुशासन र समर्पणका कारण उपलब्धि हासिल भएको एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले बताए ।




















