बुटवल, १६ फागुन ।
नेपाल तरुण दलको आयोजनामा बुटवलमा बृहत् तरुण भेला सम्पन्न भएको छ । निर्वाचन नजिकिँदै गर्दा आयोजित भेलाले संगठनात्मक एकता, युवा सक्रियता र चुनावी रणनीतिलाई सुदृढ बनाउने उद्देश्य राखेको तरुण दल क्षेत्र नं. २ का क्षेत्रीय सभापति हसन्त लामाको भनाई छ । कार्यक्रममा क्षेत्र नं. २ का करिब २ हजार युवाको सहभागिता रहेको उनले बताए ।
कार्यक्रममा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले राष्ट्रियता, संविधान र प्रजातन्त्रप्रति चुनौती बढिरहेको उल्लेख गर्दै पार्टीको रक्षा सबैको दायित्व भएको बताए । उनले तरुण दल शान्तिप्रिय संगठन भएको उल्लेख गर्दै आवश्यक पर्दा पार्टी र कार्यकर्ताको सुरक्षाका लागि एकजुट हुने धारणा व्यक्त गरे । “इतिहास साक्षी छ, हरेक संघर्षमा तरुण सहभागी हुँदा विजय सुनिश्चित भएको छ,” उनले भने । उनले आसन्न निर्वाचनलाई लोकतन्त्रको रक्षा गर्ने अवसरका रूपमा व्याख्या गर्दै रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले युवाशक्ति परिवर्तनको आधार भएको उल्लेख गर्दै युवाको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए । उनले युवालाई केवल मतदाता नभई निर्णायक शक्तिका रूपमा प्रस्तुत गर्दै संगठन सुदृढीकरण र विजय सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न आह्वान गरे ।
भेलामा कांग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्की, समानुपातिक उम्मेदवार रिता सेन ओली, लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकाल, जिल्ला सभापति रामकृष्ण खाण, क्षेत्रीय सभापति प्रजापाल गिरी तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे लगायतले मन्तव्य राख्दै संगठनको एकता, अनुशासन र सक्रियतामार्फत निर्वाचनमा विजय हासिल गर्न आग्रह गरे ।
भेलाले चुनावी माहोलमा ऊर्जा थप्दै युवाशक्तिलाई संगठित र सक्रिय बनाउने सन्देश दिएको तरुण दल बुटवल उपमहानगरपालिकाका नगर सभापति सुजन पुनले बताए ।




















