बुटवल, १४ फागुन ।
नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद पौडेलले आसन्न निर्वाचनमा एमाले देशव्यापी रूपमा अगाडि रहेको दाबी गरेका छन् । रुपन्देहीमा बिहीबार पत्रकारसंग भेटघाटमा बोल्दै उनले राष्ट्रिय राजनीतिलाई दिशा–निर्देशित गर्दै एमालेले जित हासिल गर्ने बताएका हुन् ।
पौडेलले नेकपा एमाले विजयी हुँदा देश र संविधानले जित्ने दाबी गर्दै अन्य कुनै दलले एमालेको नजिक रहने गरी परिणाम ल्याउने सम्भावना नरहेको उल्लेख गरे । उनले एमालेले यसपटक जित मात्र नभई ठूलो अन्तरले विजय हासिल गर्ने दाबीसमेत गरे । उनले रुपन्देहीलाई देशकै प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आधारभूत तथा आधुनिक शहरी विकासका योजनाहरू अघि बढाइने बताए ।
उनका अनुसार रुपन्देही हाल देशभरका निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ध्यान आकर्षित भएको क्षेत्र हो । यस क्षेत्रमा एमाले अगाडि रहेको, राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको र नेपाली कांग्रेस निकै पछाडि रहेको दाबी उनले गरे । फरक–फरक पार्टीका मतदातामा मत प्रकट गर्ने विषयमा अन्योल देखिएको पनि उनले उल्लेख गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश पाण्डेले विकास, योजना र तर्कभन्दा ‘नयाँ’ भन्ने नाममा देखिएको भावनात्मक लहर चुनौतीका रूपमा देखिएको टिप्पणी गर्दै हल्ला र भ्रम बिस्तारै चिरिदै गएको बताए ।





















