बुटवल, १३ फागुन ।
पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले रुपन्देहीलाई स्पोट्र्स हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार बुटवलमा आयोजित ‘खेलाडीसँग विष्णु प्रसाद पौडेल’ कार्यक्रममा बोल्दै उनले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्ने योजना अघि सार्दै खेल क्षेत्रमार्फत रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य रहेको बताए ।
“रुपन्देहीलाई नयाँ मानक बनाउने लक्ष्य लिएका छौं,” उनले भने। शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका कारण जिल्ला पहिलेदेखि नै चिनिएको उल्लेख गर्दै उनले अब खेल क्षेत्रलाई सीप विकास, रोजगारी र राष्ट्रिय अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
खेल विधाले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गर्दै उनले रुपन्देहीलाई व्यवस्थित खेल पूर्वाधारसहितको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको स्पष्ट पारे । उनका अनुसार सिद्धार्थ क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्ने, निजी क्षेत्रले निर्माण गरेको एक्स्ट्रा टेक ओभेल क्रिकेट मैदानमा सहजीकरण गर्ने तथा उजिरसिंह रंगशालाको निर्माण कार्य अघि बढाइनेछ ।
चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भई पारित भएको बजेट कार्यान्वयनमा आउने भन्दै उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम रोकिने नभई कार्यान्वयनमा जाने स्पष्ट पारे । “यो सरकारले बजेट रद्द गरेको होइन, होल्ड गरेको हो । होल्ड गरिएको निर्णय छिट्टै खुला हुन्छ,” उनले भने ।
उजिरसिंह रंगशालाको निर्माणमा ढिलाइ भएको विषयमा चासो बढेको स्वीकार गर्दै उनले जग्गा प्राप्तिमा भएको ढिलाइ र वातावरणीय अध्ययन सम्बन्धी प्रक्रिया ईआईए र आईईई झन्झटिलो हुँदा काम प्रभावित भएको बताए । एकपटक सम्पन्न भइसकेको ईआईए पुनः गर्नुपर्ने अवस्था आएपछि प्रक्रिया लम्बिएको उनले स्पष्ट पारे। प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उक्त रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै काम अघि बढाइने तयारी रहेको जानकारी दिए ।
“कुनै पनि समस्याको समाधान निराशा होइन,” उनले भने, “प्रतिकूलता र अवरोधलाई सकारात्मक सोचका साथ समाधान गर्नुपर्छ ।”
यसैबीच खेलाडी र जनप्रतिनिधिबीच समन्वयका लागि पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सहजीकरणको भूमिकामा अघि सार्ने प्रस्ताव पनि उनले राखे। सबै खेलका खेलाडीसँग संवाद, समस्या संकलन र समाधानका लागि जनप्रतिनिधिसँग सहकार्य गर्दै कार्यान्वयनसम्म लैजाने संवाद सूत्रका रूपमा गौचनलाई भूमिका दिने उनले बताए ।
आर्थिक वर्ष २०८२/२०८३ मा संघिय सरकारबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ रुपन्देहीमा १९ करोड ३० लाख रुपैया विनियोजित भई योजनाहरु कार्यान्वयन छन । जसमा फिफा टेक्निकल एकेडेमीमा फलड लाईट जडान र थप प्याराफिट निमार्णमा ४ करोड, देविनगरमा बहुउदेश्यीय ईन्डोर खेल कम्प्लेक्स निमार्ण ३ करोड, बुटवल ब्याडमिन्टन क्लबको कर्भडहल स्तरोन्ती ३ करोड, बुटवल १२ स्थित तामनगर ब्याडमिन्टन क्लबको कर्भडहल निमार्ण ३ करोड, बुटवल १२ स्थित आर्चरी खेलका लागि छन्त्याल तारा खेलमैदान निमार्ण ३ करोड, सिद्धार्थ खेलमैदान तिलोत्तमा ६० लाख, नवज्योती खेलमैदान स्तरोन्नती ६० लाख, निमार्णधिन तिलोत्तमा फुटबल एकेडेमी ६० लाख, जनज्योती खेलमैदान ६० लाख, बासघारी खेलमैदान तिलोत्तमा ६० लाख रुपैया रहेका छन ।
कार्यक्रममा क्रिकेट, कराते, तेक्वान्दो, उसु, टेबलटेनिस, एथ्लेटिक्स, फुटबल, साइक्लिष्ट, भलिबल, कबडडी, हाप्किडो, ब्याडमिन्टन, आर्चरी खेलका सयौ खेलाडीहरु सहभागी भएका थिए ।





















