बुटवल,१३ फागुन । फागुन १५ गते देशभर सार्वजनिक बिदा दिन नेपाल मगर सघ रुपन्देहीले माग गरेको छ । संघले बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ मा सार्वजनिक बिदा , लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता ,विद्यालयमा मगर भाषामा पढाइ गर्न र नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न समेत माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका बुटवल उपमहानगर अध्यक्ष लुमबहादुर सारु मगरले बुटवल उपमहानगरमा मगर समुदायको करिब ३७ हजार जनसंख्या रहेकाले बुटवल उपमहानगरभित्र फागुन १५ गते सरकारी कार्यालय, शैक्षिक संस्थामा सार्वजनिक बिदा दिन माग गरेछन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको घोषणापत्रमा प्रमुख दलहरुले स्पस्ष्टरुपमा पहिचान र पूर्ण समावेशीताको सवाल नउठाएको प्रति मगर समुदायको गम्भिर ध्यानाकर्षण भएको उनले बताए । संघका रुपन्देही अध्यक्ष थर्कबहादुर बाह्रघरे मगरले नेपाल मगर संघ स्थापना गरेको दिनमा राष्ट्रिय बिदा दिनुपर्ने मगर समुदायको वर्षौंदेखिको माग रहेपनि बेवास्ता भएको गुनासो गरे ।
करिब साढे ७ लाख मगर समुदायको जनसंख्या रहेको ‘लुम्बिनी प्रदेशमा राज्यको हरेक संरचना र क्षेत्रमा समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने बताएका छन् । नेपाल मगर सघंको ४४ औ स्थापना दिवसका अवसरमा संघले सरसफाइ, खाद्यान्न वितरण र सांस्कृतिक कार्यक्रम गर्ने सघंंका अध्यक्ष सारुले बताए ।





















