हुम्ला,१३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लाका १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन् । ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका–३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए ।
सडक सञ्जाल नरहेको सो स्थानमा गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्ने स्थानियले बताएका छन् । निर्वाचन अधिकारी रोकायाका अनुसार सर्केगाड गाउँपालिकामा ३०० भन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन् ।
वडा नं १ को देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ जना मतदाता रहेका छन् । अरनिको प्रावि यारीमा १९५, खासरपानी प्रावि मुचुमा २३४, हिमालय प्रावि चालामा १५९, महाबौद्ध मावि याल्वाङमा २८० र नमोडोछोमु प्रावि ताङ्घीनमा १५९ मतदाता छन् ।
यी सबै मतदान केन्द्रमा यतिबेला हिउँ जमेको छ भने केही मतदान केन्द्रमा जान यारी र न्यालुको लेकमा भएको हिउँका कारण जान नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । जिल्लाको सबैभन्दा धेरै मतदाता भएको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालय लालिमा एक हजार ६३ मतदाता रहेका छन् ।





















