काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर साबित्री भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि उल्लेखनीय आर्थिक सहयोग जुटेको जनाउँदै अब सहयोग रोक्न अनुरोध गरेकी छन् ।
साम्बाले सार्वजनिक सन्देशमार्फत पछिल्लो २४ घण्टामा उपचारका लागि असाधारण साथ, विश्वास र माया प्राप्त भएको बताएकी छन् । उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत ५२ हजार न्युजिल्यान्ड डलर (करिब ४५ लाख रुपैयाँ) संकलन भएको छ ।
विभिन्न संघ–संस्था तथा प्रायोजकबाट नगद र सुविधा सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले उल्लेख गरेकी छन् । संकलित रकमले उपचार खर्चका साथै कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात खर्चसमेत धान्ने अवस्था बनेको जनाउँदै आजैदेखि दुवै खातामा सहयोग रकम जम्मा नगर्न आग्रह गरेकी छन् ।
साम्बा आबद्ध क्लबले पनि शल्यक्रिया र पुनःस्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको जनाइएको छ । चाँडै शल्यक्रियाको मिति तय भई उपचार प्रक्रिया अघि बढ्नेमा उनी विश्वस्त देखिएकी छन् । चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि प्रभावित भएको उल्लेख गर्दै साम्बाले समर्थकहरूको साथले आफूलाई पुनः उठ्ने साहस दिएको बताएकी छन् । “म अझ मजबुत भएर फर्कनेछु, फेरि नेपालको जर्सी लगाएर देशका लागि खेल्नेछु,” उनले सामाजिक संजालमा लेखिकी छिन् ।





















