बुटवल, १२ फागुन –
प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ । यस टास्क फोर्सको उद्देश्य निर्वाचन अवधिमा हुन सक्ने सम्भावित दुर्घटना र स्वास्थ्य समस्या व्यवस्थापन गर्नु हो । अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमका अनुसार, निर्वाचन अवधिमा सार्वजनिक विदा हुने भएकाले फागुन १९ देखि २२ गतेसम्म पनि सेवा दिन सक्ने गरी विशेष स्वास्थ्य सेवा दल परिचालित गरिनेछ। टास्क फोर्सको संयोजन अस्पतालको आकस्मिक विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा. मोहम्मद नुरुल होदाले गर्नेछन् । प्रत्येक विभागबाट एक–एक फोकलपर्सन चयन गरिएको छ ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले यो पहल स्वास्थ्य क्षेत्रबाट निर्वाचनलाई सफल, भयरहित र निस्पक्ष बनाउन अस्पतालले गर्न सक्ने योगदानको रूपमा लिइएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले पनि जनताको स्वास्थ्य सेवामा संवेदनशील रहेको भन्दै आवश्यक स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन टास्क फोर्स गठन गरिएको जानकारी दिएका छन् । अस्पतालले नियमित सेवा जारी राख्नेबाहेक, टास्क फोर्सले निर्वाचन अवधिमा स्वास्थ्य समस्या र आकस्मिक अवस्थालाई मध्यनजर गरी तत्काल उपचार सेवा उपलब्ध गराउनेछ ।





















