बुटवल, ७ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदातालाई लिखित पत्रमार्फत सम्बोधन गर्दै विकास र समृद्धिको अभियानलाई थप तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।
घरदैलो अभियानकै क्रममा मतदाताको नाम उल्लेख गरी व्यक्तिगत रूपमा पत्र वितरण गरिएको एमाले नेता युवराज घिमिरेले जानकारी दिए । उनका अनुसार निर्वाचन परिचालन कमिटीको समन्वयमा सम्बन्धित व्यक्तिको नामै लेखेर पत्र पु¥याउने अभियान सञ्चालन गरिएको हो ।
पत्रमा पौडेलले मतदाता तथा परिवारजनप्रति सम्मान व्यक्त गर्दै स्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको कामना गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई उनले संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासको दिशानिर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् ।
विगतमा मतदाताबाट प्राप्त विश्वासका आधारमा आफू निर्वाचित भई अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणलाई गति दिने तथा महामारी र आर्थिक चुनौतीबीच स्थायित्व कायम राख्ने प्रयास गरेको दाबी उनले पत्रमार्फत गरेका छन्। भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीपछिको आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ महामारीका बेला अर्थतन्त्र सन्तुलनमा राख्न आफ्नो भूमिका रहेको उनको उल्लेख छ ।
रूपन्देहीलाई सम्भावनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ठूला पूर्वाधार आयोजना अघि बढाइएको उनले बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया व्यापारिक करिडोर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, सिद्धार्थ राजमार्ग, बुटवल–नारायणगढ सडकलगायतका आयोजनाले क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पु¥याएको दाबी उनले गरेका छन् ।
पत्रमा सुरु भइसकेका तर अधुरा रहेका आयोजना छिटो सम्पन्न गर्ने, नयाँ योजनाको थालनी गर्ने, औद्योगिक विकास विस्तार गर्ने तथा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । शिक्षा, स्वास्थ्य, उत्पादन र आयआर्जनका क्षेत्रमा रूपन्देहीलाई अग्रणी केन्द्र बनाउने योजना पनि अघि सारिएको छ ।
पौडेलले विकासलाई सामाजिक न्यायसँग जोड्दै समान अवसर, समावेशी सहभागिता र आत्मसम्मानसहितको समाज निर्माणमा जोड दिने बताएका छन् । सुशासन, पारदर्शिता र जवाफदेहितालाई कार्यशैलीको मूल आधार बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले आफूले अघि बढाएको विकास र समृद्धिको अभियानलाई निष्कर्षमा पु¥याउन पुनः जनसमर्थन आवश्यक रहेको उल्लेख गर्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्। राष्ट्र निर्माण, आर्थिक रूपान्तरण र क्षेत्रीय समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । उनी आबद्ध दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि रूपन्देही–२ मा विकास निरन्तरताको आधारमा चुनावी अभियान तीव्र बनाएको जनाएको छ ।
पत्र पाएकी मतदाता काव्या थापाले प्रतिबद्धता पत्रले विगतका उपलब्धि र आगामी योजनाबारे स्पष्ट धारणा दिएको बताइन् । सामाजिक सञ्जालमा देखिएका भ्रम चिर्न पत्र सहयोगी बनेको उनको भनाइ छ । रूपन्देही–२ मा पौडेल २०६४ सालदेखि लगातार निर्वाचित हुँदै आएका छन् ।





















