Spread the love

बुटवल, ३ फागुन ।
‘उज्यालो नेपाल’ ले आमाहरूको सम्मान, सुरक्षा र स्वाभिमानलाई केन्द्रमा राख्दै ‘आमा स्वाभिमान अभियान’ सार्वजनिक गरेको छ । अभियानमार्फत आमाको स्वास्थ्य, आर्थिक सुरक्षा तथा कानुनी संरक्षण सुनिश्चित गर्ने उद्देश्य राखिएको जनाइएको छ । अभियानका तर्फबाट सार्वजनिक पाँच बुदे प्रतिबद्धतामा गर्भावस्था तथा सुत्केरी अवस्थामा आर्थिक सहयोग, सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क, कानुनी सहायता निःशुल्क, ६० वर्ष नाघेका आमाहरूका सन्तानलाई रोजगारीमा विशेष सुविधा र ६० वर्ष नाघेका आमाहरू बस्ने घरमा आधारभूत सुविधामा छुट रहेको रुपन्देही क्षेत्र नं. २ का उम्मेदबार सुरज पाण्डे बताउछन ।

गर्भावस्था सुरु भएदेखि बच्चा जन्मिएको ६ महिनासम्म आमालाई प्रतिमहिना ५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराइने प्रस्ताव प्रमुख रहेको उनी बताउछन । यो सहयोगबाट पोषण, औषधि तथा अन्य आवश्यक खर्च व्यवस्थापनमा सहजता पुग्ने उनको दाबी छ । त्यस्तै, गर्भावस्था, सुत्केरी अवस्था तथा बच्चा जन्मिएपछि ६ महिनासम्म आमालाई सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने योजना अघि सारिएको छ । यसअन्तर्गत उपचार, औषधि, अस्पताल भर्ना, शल्यक्रिया लगायतका सेवा सरकारी तथा साझेदार अस्पतालमार्फत निःशुल्क प्रदान गर्ने उल्लेख छ ।

अभियानले घरेलु हिंसा, सम्पत्ति विवाद, श्रम शोषण, बालविवाह तथा दाइजो प्रथाजस्ता विषयमा आमाहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जसमा विशेष कानुनी सहायता सेल गठन गरिने र परामर्शदेखि वकिल तथा अदालती खर्चसम्म निःशुल्क व्यवस्था गरिने उल्लेख गरिएको छ । ६० वर्ष नाघेका आमाका सन्तानलाई रोजगारीमा विशेष सुविधा प्रदान गर्ने प्रस्ताव पनि अभियानमा समावेश छ ।

सरकारी वा निजी क्षेत्रमा रोजगारी प्राप्त गर्दा पारिश्रमिकमा ७५ प्रतिशतसम्म कर छुट दिने योजना अघि सारिएको छ । यसले वृद्ध आमाको आर्थिक सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । यसैगरी, ६० वर्ष नाघेका आमाहरू बसोबास गर्ने घरमा बिजुली, खानेपानी तथा घरजग्गा करमा २५ प्रतिशत छुट प्रदान गर्ने प्रस्ताव गरिएको छ । अभियान पक्षले यी कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था संसदमार्फत अघि बढाइने उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्