बुटवल, ३ फागुन ।
बाग्लुङ्गको एउटा सानो गाउमा जन्मिएर जीवनका धेरै उतार चढाव पार गरेका चुन्न प्रसाद पौडेल परिचित एक नाम हो । गाउमा उनले अध्ययनसंगै शिक्षण पेशामा केही समय बिताए । परिवार नै बुटवल झरेपछि उनि यहा आफनो ब्यवसाय शुरु गरे । लामोसमयको निरन्तरता र मेहनतबाट उनि एउटा सफल ब्यवसायीको रुपमा परिचय बनाए ।
बाग्लुङको सामान्य परिवारबाट उद्यमशील यात्रामा अघि बढेका पौडेल ‘करेन्ट चाउचाउ’ ब्रान्डमार्फत अकबरे खुर्सानीसहितका नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म लग्न सफल भए । उद्योग र कृषि क्षेत्रबीचको समन्वयले हजारौं किसान प्रत्यक्ष लाभान्वित भएको उनी बताउछन् । राजनीतिमा पनि सक्रिय उनि अहिले रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेका छन ।
राजनीतिक भाषणभन्दा नतिजामुखी काममा अग्रसर उनि आफनो विकासका विभिन्न एजेण्डा सार्वजनिक गरेका छन् । उनी विकासका मुख्य ७ बुदे मोडललाई रुपन्देहीको विकासमा लागू गर्ने योजना सुनाउछन । सुस्ताएको बुटवल बजारलाई पुनर्जीवन दिन साना तथा मझौला व्यवसायीलाई सहज ऋण, स्थिर बजार नीति र लगानीमैत्री वातावरण सुनिश्चित गर्ने बताएका छन् । बुटवललाई लुम्बिनी प्रदेशको व्यापारिक केन्द्रका रूपमा पुनः स्थापित गर्ने उनको लक्ष्य छ । यता कृषि क्षेत्रतर्फ उनले उत्पादन र उद्योगबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने नीति अघि सारेका छन् ।
किसानले उत्पादन गरेको तरकारी तथा अन्न बजार नपाएर नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सिंचाइ, मल–बीउको समयमै उपलब्धता र बजार सुनिश्चिततामा जोड दिने बताएका छन् । किसानसंगै अहिलेको युवा आवाजलाई सम्बोधन गर्नेतर्फ उनको ध्यान छ । युवा रोजगारीका विषयमा पौडेलले विदेश पलायन रोक्दै स्थानीयस्तरमै सीपमूलक तालिम र उद्योग–शिक्षा सहकार्यको पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसमा मोतिपुर औद्योगिक क्षेत्रलाई रोजगारीको केन्द्र बन्ने उनको दाबी छ ।
पूर्वाधार विकास अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माण शीघ्र सम्पन्न गराउन पहल गर्ने, बुटवलका भित्री सडक स्तरोन्नति गर्ने तथा बुटवल, सैनामैना र तिलोत्तमालाई जोड्ने आधुनिक यातायात सञ्जाल विकास गर्ने योजना उनले प्रस्तुत गरेका छन् ।
भूमि व्यवस्थापनतर्फ सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्दै वास्तविक भूमिहीनलाई लालपुर्जा वितरण गर्ने, तिनाउ किनारका बस्ती व्यवस्थापन गर्ने र जोखिमयुक्त बस्तीमा पहिरो नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने एजेण्डा सार्वजनिक गरिएको छ ।
स्वास्थ्य सेवामा सुधारका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने तथा सिद्धार्थ बाल तथा महिला अस्पताललाई स्तरोन्नति गरी मेडिकल कलेजका रूपमा विस्तार गर्ने योजना उनले अघि सारेका छन् । आर्थिक अभावकै कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, बढ्दो सहरीकरणलाई ध्यानमा राख्दै दीर्घकालीन खानेपानी आयोजना, फोहोर व्यवस्थापन र हरियाली प्रवद्र्धनमार्फत ‘बस्न योग्य सहर’ निर्माण गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन् ।





















