Spread the love

देवदह, ३ फागुन ।
रुपन्देही क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले सबै धर्म र संस्कृतिको संरक्षण तथा विकास गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। महाशिवरात्रि पर्वको अवसरमा आइतबार क्षेत्रभित्रका विभिन्न शिवालय तथा मठ–मन्दिरको दर्शन तथा परिक्रमा गर्दै उनले धार्मिक सद्भाव कायम राख्न सबै धर्मप्रति सम्मान अनिवार्य रहेको उल्लेख गरे।

नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भाव जोगाउन साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो। उनले धार्मिक धरोहरको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

खत्रीले देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा तथा टोलमा रहेका मठ–मन्दिरको अवलोकन गरेका थिए। सो क्रममा उनले गौशाला सिद्धेश्वर मन्दिर, दुर्गा मन्दिर, लोकेश्वर मन्दिर, विन्दबासिनी मन्दिर, शिव मन्दिर लगायतका धार्मिक स्थलमा पुगेर दर्शनार्थीसँग भेटघाट गरेका थिए।

निर्वाचन परिचालन समिति सदस्य राजेन्द्र न्यौपानेका अनुसार खत्रीले तिलोत्तमा–८ को गौशाला तथा तिलोत्तमा–९ का विभिन्न शिवालय मन्दिरमा समेत अवलोकन गरी स्थानीय धार्मिक धरोहरको अवस्था बुझ्नुका साथै संरक्षण र विकासबारे सुझाव संकलन गरेका थिए।

खत्रीले नव युवा आन्दोलनपछि युवाले उठाएका मुद्दा र चाहनालाई आधार मानेर आफू उम्मेदवार बनेको बताए। युवाको भावना र अपेक्षालाई सम्बोधन गर्ने गरी योजना तथा कार्यक्रम बनाउने विश्वास पनि उनले व्यक्त गरे।

महाशिवरात्रि पर्वको सन्दर्भमा गरिएको उक्त धार्मिक भ्रमणलाई खत्रीको चुनावी अभियानको एक भागका रूपमा हेरिएको छ। उनले धार्मिक विविधतालाई सामाजिक एकताको आधारका रूपमा व्याख्या गर्दै विकास र सद्भाव सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्