काठमाडौं, १ फागुन । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर का चारवटै ढोका बिहान २ बजेदेखि खुला गरिने भएको छ। मन्दिर प्रवेशका लागि चार विभिन्न स्थानबाट लाइन व्यवस्थापन गरिएको र पर्वको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।
उनका अनुसार स्वदेशी तथा विदेशी भक्तजन, साधु–सन्त, महन्त, तीर्थयात्री तथा पर्यटकको सहज दर्शनका लागि सुरक्षा, स्वयंसेवक परिचालन, चन्दन–प्रसाद वितरण, भजन–कीर्तन तथा अन्य आवश्यक व्यवस्थापन मिलाइएको छ ।
पर्वलाई सुरक्षित र मर्यादित बनाउन पशुपति क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा कोषको सुरक्षा संयन्त्रबाट व्यापक सुरक्षा जनशक्ति परिचालन गरिने जोशीले बताए।
महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा मदिरा, गाँजा, भाङ, चरेशजस्ता लागुऔषध पदार्थको भण्डारण, बिक्री–वितरण तथा ओसारपसार नगर्न कोषले सबैमा अनुरोध गरेको छ।





















