Spread the love

 

बुटवल, १ फागुन । देशभरका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो स्थानमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार बुटवलले ६४.४४ अंक अंकसहित शीर्ष स्थानमा रहेको हो । इटहरी उपमहानगरपालिका सबैभन्दा कम ३८.९६ अंकसहित अन्तिम स्थानमा परेको छ ।

दाङका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुर उपमहानगरपालिका ले ६१.५३ अंक र घोराही उपमहानगरपालिका ले ६१.०८ अंक हासिल गरेका छन्। त्यस्तै धरान उपमहानगरपालिका ले ४९.७६ अंक प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख छ।
आयोगले स्थानीय तहको मूल्यांकनका लागि कुल १७ वटा सूचक निर्धारण गरेको जनाएको छ। ती सूचकमा असार १० भित्र बजेट सार्वजनिक गरे–नगरेको, असार मसान्तभित्र बजेट पारित भए–नभएको, प्रदेश सरकारलाई बुझाउनुपर्ने घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करको ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे–नगरेको लगायत विषय समावेश छन्।
त्यस्तै आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा पेश गरे–नगरेको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेकोलाई पनि मूल्यांकनको आधार बनाइएको छ।
यसका अतिरिक्त राजस्व परिचालन, बजेट खर्चको प्रगति, बेरुजु फछ्र्योट, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसईई नतिजा तथा खोप लगाएका बालबालिकाको अनुपातजस्ता सूचकसमेत समावेश गरिएको आयोगले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्