बुटवल, १ फागुन ।
नीजि क्षेत्रबाट आयोजना हुने खेल गतिविधिलाई सबै संघबाट सहयोग जरुरी रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले बताएका छन । खेल विकासमा नीजि क्षेत्रको योगदानबारे प्रकाश पार्दै उनले प्याब्सनको आयोजनामा काठमाण्डौमा शुरु भएको क्रिकेट प्रतियोगिता महत्वपूर्ण उपलब्धि भएको समेत दाबी गरे ।
पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा रुपन्देहीमा आयोजना गरेको मेमोरियल यु–१९ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले कुनै पनि प्रतियोगिता आयोजना गर्दा संघबाट आवश्यक सहयोग र सहकार्य गर्नुपर्ने सुझाव दिए । स्वीकृति नदिने र अनावश्यक दुख दिने काम भैरहेकोप्रति आफनो ध्यान आकृष्ट भएको उनले बताए ।
खेलाडी छनौट, खेल प्रतियोगिता संघमा हुदा यसको अपनत्व लिने काम सरकारको हुने उनले बताए । राखेपको मातहतमा सबै खेल संघहरु चल्नुपर्ने उनले बताए । क्रिकेट खेलको विकास र खेलाडी उत्पादन गरेका क्लबहरुलाई संघबाट सहयोग जरुरी रहेको बताए ।
क्रिकेट खेलेर ब्यवसायिक खेलाडीको अवस्था सृजना हुने अवस्था आएको उनले बताए । खेल खेलेरै कमाउन सक्ने र घर चलाउन सक्ने वातावरण सृजना भएको उनले दाबी गरे । खेलमा अनुशासनलाई भने ध्यान दिन सुझाव दिए । नियम कानुनमा रहेर खेल खेल्न सकेमात्र राम्रो खेलाडी बन्न सकिने उनले बताए ।
क्रिकेटको पर्यायवाची शक्ति गौचन बन्न सफल भएको उदाहारण दिदै उनले क्रिकेट खेलेर, खेलाएर, सिकाएर, पढाएर, बुझाएर यसैमा दिएको योगदानको प्रशंसा गरे । ‘मैदानबाट बिदा लिन नपर्ने उदाहारण शक्ति गौचनबाट सिक्न सकिन्छ ।’–उनले भने । ‘उहाबाट सबैले सिक्नुपर्छ ।’–उनले भने । राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गरेको स्टार क्रिकेट एकेडेमीको योगदानबारे प्रकाश पार्दै देशभर यस्ता एकेडेमी खोल्नुपर्ने उनले बताए ।
कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा एम्पायर संजय गुरुङ्ग, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले रुपन्देहीको मात्र नभई राष्ट्रिय क्रिकेटमा शक्ति गौचनबाट भएको योगदानबारे चर्चा गरे ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा शुक्रबार उद्घाटन खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी र न्यु होराईजन स्पोर्टस क्लबका बिचमा खेल भएको छ । उमेर समुहका खेलाडीहरुलाई ब्याटिङ्ग र बलिङ्ग दुबै कुरामा पोख्त बनाउन केवल २० ओभरको प्रतियोगिताबाट नपुग्ने आयोजक स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनले बताए । ‘खेलाडीहरुलाई ५० ओभरका खेलमा अभ्यास जरुरी छ ।’– उनले भने । रुपन्देहीबाट उमेर समुहमा खेलेका धेरै युवाहरु पछिल्लोसमय राष्ट्रिय टिममा दाबेदारी पेश गरिरहेको उनले बताए ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाण्डौ, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट, वेष्ट्रन क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ । क्रिकेट विकासमा लागेका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले यो सिजनमा तेस्रो उमेर समुहको प्रतियोगिता गर्ने भएका छन । यू–१४, यु–१७ जिल्ला प्रतियोगिता भर्खर सकेका गौचनले आफनो बुबाको स्मृतिमा शुक्रबारदेखी यु–१९ राष्ट्रिय प्रतियोगिता गर्ने भएका हुन ।





















