बुटवल, २५ माघ ।
स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं भेजरेज प्रालिको बिग मास्टर वाइनले रिटेल तथा होलसेल व्यवसायीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको क्षेत्रीय वितरक भगवती ट्रेनिङ हाउसको आयोजनामा आइतबार रुपन्देहीमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले स्वदेशी उत्पादन बिग मास्टरले नेपाली बजारमा राम्रो स्थान बनाइसकेको बताए । छोटो समयमा नै नेपालमै उत्पादन सुरु गरेर विदेशी वाइनको बजारसँग प्रतिस्पर्धा गर्न सफल हुनु सकारात्मक पक्ष भएको उनले उल्लेख गरे । उनले कम्पनीलाई सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका खेल्न सुझाव दिए ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट संघका अध्यक्ष माधवकुमार खनालले बिग मास्टरले बजारमा राम्रो पहिचान बनाइसकेको भन्दै होटल तथा रेष्टुरेन्ट क्षेत्रबाट निरन्तर साथ रहने प्रतिबद्धता जनाए ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर जिसुन चापागाईंले बिग मास्टर वाइन विगत १४ वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरअनुसार नेपालमै उत्पादन हुँदै आएको जानकारी दिए । हाल नेपालभित्र मात्र नभई विदेशसम्म पनि यसको बजार विस्तार भएको उनले बताए । अफ्रिकामा गरिएको अध्ययन तथा अनुसन्धानपछि सिराज र सेरिन्ज जातका दुई प्रकारका वाइन नेपाली बजारमा भित्र्याइएको र यसलाई आन्तरिक बजारमा अग्रणी ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको उनको भनाइ थियो । यद्यपि स्वदेशी वाइन उद्योगमा अझै पनि नीतिगत अवरोधहरू रहेको उनले गुनासो गरे । हाल ७५० एमएलको बोतलमा उपलब्ध बिग मास्टर वाइन ३३० एमएलमा समेत उत्पादन सुरु गरिएको भए पनि अनुमति प्रक्रियामा नीतिगत कठिनाइ आएको उनले स्मरण गराए ।
कार्यक्रममा क्षेत्रीय वितरक भगवती ट्रेनिङ हाउसका सञ्चालक मुक्ति प्रसाद श्रेष्ठले बजारमा माग हुने करिब ८० प्रतिशत वाइन बिग मास्टरले आपूर्ति गरिरहेको दाबी गरे । उपभोक्ताबाट आएका गुनासो तथा सुझाव सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
कार्यक्रमका अवसरमा गरिएको गोलाप्रथामा भैरहवाको न्यु लुम्बिनी कोल्ड स्टोर प्रथम तथा तृतीय हुँदै २१० लिटर क्षमताको फ्रिज र कुलर प्राप्त गर्न सफल भएको छ । बुटवलस्थित बीपी सप्लायर्सका विष्णु प्रसाद पाण्डे दोस्रो हुँदै माइक्रो ओभनबाट पुरस्कृत भएका छन् ।
कार्यक्रममा रुपन्देही, पाल्पा र नवलपरासी लगायत क्षेत्रका २०० भन्दा बढी रिटेल तथा होलसेल व्यवसायीहरूको सहभागिता रहेको थियो ।






















