बुटवल, २४ माघ ।
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले क्षेत्र नं २ मा कृष्णबहादुर थापाको संयोजकत्वमा ३ सय १ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ । शनिवार बुटवलमा सम्पन्न भेलाले समितिको सह–संयोजकहरुमा प्रकाश परियार, सिर्जन थापा, धनसिंह खाम्चा र गोबिन्द खरेललाई चयन गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमाका ६ र सैनामैनाका ४ वडामा नेतृत्वमा रहेका युवाहरुलाई परिचालन समितिमा राखिएको नेकपाले जनाएको छ ।
युवा परिचालन समितिले आफ्ना उम्मेदवारलाई विजयी बनाउन मतदाता शिक्षा र चुनाव चिन्हका बारेमा समेत जनतालाई जागरुक बनाउन भूमिका खेल्ने संयोजक कृष्ण थापाले बताए । यसका साथै निर्वाचन बिथोल्ने गतिविधि र आम मतदातालाई अनेक प्रलोभन देखाएर प्रभावित पार्ने अवस्थालाई न्यून गर्न युवाहरुबाट अनुगमन हुने उनले बताए ।
भेलामा नेकपा रुपन्देही क्षेत्र नं २ का नेकपाका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आफु विजयी भए युवाहरुलाई स्वरोजगार बनाउन नीतिगत पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे । रुपन्देहीको विकासका साथै समग्र लुम्बिनी प्रदेशको विकासमा आफूले नेतृत्व गर्न चाहेको उल्लेख गर्दै पार्टीका शिर्षथ नेताहरुसंगको सहकार्यबाट प्राप्त अनुभवलाई जनताको हितमा प्रयोग गरिने उनले बताए ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समितिका संयोजक नारायण जी.सी. ‘निर्मल’ले आफ्नो पार्टीको उम्मेदवार विचारमा प्रतिवद्ध, भ्रष्टचारमुक्त र विकासको स्पष्ट खाका लिएर चुनावमा होमिएको दाबी गरे । जेन्जी आन्दोलनको हुर्मत लिनेहरुलाई बेलैमा चिनेर जनताबाट मतदानबाट जवाफ दिनुपर्ने उनले आग्रह गरे ।






















