बुटवल, २१ माघ ।
प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–२ बाट नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई पूर्वआप्रवासीहरूले बलियो साथ दिने प्रतिबद्धता जनाएका छन् । बुधबार बुटवलमा आयोजित भेटघाट कार्यक्रममा पूर्वआप्रवासीहरूले देशको विकास र समृद्धिका लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि काँग्रेस उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिएका थिए । उद्योग र व्यवसायलाई प्राथमिकता दिँदा क्षेत्रको औद्योगिक विकासले गति लिने विश्वाससमेत उनीहरूले व्यक्त गरे ।
कार्यक्रममा उम्मेदवार पौडेलले समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न काँग्रेसको जित आवश्यक रहेको बताए । युवा पलायन रोक्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने, विकासका गतिविधि तीव्र बनाउने र अर्थतन्त्र चलायमान बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताए । नेपाली काँग्रेस रुपन्देही–२ का सभापति प्रजापाल गिरीले उम्मेदवार पौडेल इमानदार, नैतिकवान र विकासप्रेमी नेता भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेस पूर्वआप्रवासी समन्वय विभाग रुपन्देहीका अध्यक्ष लालमणि भण्डारी केन्द्रीय सदस्य यदुनाथ पाण्डे, प्रदेश अध्यक्ष माधव भुसाललगायतले काँग्रेस उम्मेदवार पौडेललाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।






















