बुटवल, १६ माघ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही अन्तरगतको पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नवलपरासीलाई पुस्तक तथा खेलकुद सामग्री प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रममा ६० हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री हस्तान्तरण गरिएको हो ।
विशेष सुरक्षा गण सुनवलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा र उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपती प्रहरी उपरीक्षक डिलबहादुर मल्ललाई सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष अर्यालले परिवारबाट टाढा रहेर देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि पुस्तक र खेलकुद सामग्री उपयोगी हुने विश्वास व्यक्त गर्दै पठन संस्कृतिको विकासमा पनि टेवा पुग्ने बताए ।
कार्यक्रममा बस्तुगत समितिका सभापति शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै यस पटक विशेष सुरक्षा गणको आवश्यकताका आधारमा सामग्री प्रदान गरिएको बताए ।





















