बुटवल, १७ माघ । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको विकास अब भौतिक पूर्वाधारबाट रोजगारी र मानवीय विकासतर्फ केन्द्रित हुने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार पौडेलले औद्योगिक विकास, लगानी प्रवद्र्धन र स्वरोजगार सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकता बनाउने स्पष्ट पारे ।
एमालेको वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले भौतिक संरचनाको विकासले मात्रै समृद्धि सम्भव नहुने उल्लेख गरे । उनले जनताको आयस्तर वृद्धि, युवालाई रोजगारी र स्वरोजगारमा जोड्ने योजनामा आफू केन्द्रित रहने बताए । जेनजी पुस्ताको मुख्य माग रोजगारी रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्ने खालका कार्यक्रम अघि बढाइने बताए ।
पौडेलले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल–पोखरा, बुटवल–गोरुसिंगे र बुटवल–नारायणगढ सडक विस्तार, तिनाउमा सिग्नेचर ब्रिज निर्माण, मेडिकल कलेज स्थापना जस्ता ठूला परियोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउने, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र सञ्चालन र औद्योगिक क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।






















