काठमाडौँ,१६ माघ । फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लाई ध्यानमा राख्दै निर्माण पक्षले फिल्मको प्रदर्शन पछि सार्ने निर्णय गरेको हो ।
फिल्मको प्रचार–प्रसारदेखि हल प्रदर्शनसम्म निर्वाचनले असर पार्ने देखिएकाले निर्माता कम्पनी लेकाली इन्टरटेन्मेन्ट प्रालि ले हाल मुलुकको प्राथमिकता निर्वाचन नै भएकाले त्यसको सम्मानस्वरूप प्रदर्शन स्थगित गरिएको जानकारी दिएको छ । विज्ञप्तिमा नयाँ सरकार गठन भई निर्वाचन पछिको अवस्था सहज बनेपछि फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म ‘कल्ली’ मा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, परिक्षा लिम्बू, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा र गीता अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको एक गीतमा अभिनेत्री पूजा शर्माको आइटम नृत्य पनि समावेश गरिएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस फिल्ममा निर्देशक सुनारकै कथा रहेको छ भने महेश दवाडीको पटकथा तथा संवाद र एन.भी. महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।





















