बुटवल, १४ माघ ।
नेपाल उद्योग परिसंघ लुम्बिनी तथा रुपन्देही उद्योग संघसँग आबद्ध उद्योगी–व्यवसायीहरूले आफ्ना समस्या आगामी बजेटमार्फत सम्बोधन गर्न पहल गरिदिन सिएनआईका प्रतिनिधिसमक्ष आग्रह गरेका छन् । स्वदेशी उद्योगीका समस्या नीतिगत रूपमा सम्बोधन नहुँदा उद्योग सञ्चालनमा गम्भीर समस्या देखिएको उनीहरूको भनाइ छ । यसअघि उठाइएका कतिपय विषय ढिलै भए पनि सम्बोधन भएकाले यसपटक ती विषयलाई प्राथमिकताका साथ अघि बढाउन माग गरिएको छ । नयाँ बजेटका विषयमा अर्थ मन्त्रालयलाई सुझाव पेश गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सिएनआई) को टोली माघ महिनामै देशव्यापी अभियानमा निस्किएको हो ।
कार्यक्रममा सिएनआई लुम्बिनीका अध्यक्ष एजाज आलमले बाहिरबाट आयात भई स्वदेशी उत्पादनलाई कमजोर बनाउने वस्तुमा लगाइनुपर्ने अन्तःशुल्कका विषयमा सरकारबाट उद्योगीलाई अनावश्यक दुःख दिने काम भएको गुनासो गरे । सेज क्षेत्रमा घटाइएको भाडादर औद्योगिक क्षेत्रमा कार्यान्वयन नहुनु, औद्योगिक क्षेत्र घोषणा भएर पनि कार्यान्वयन नहुनु, बैंक ब्याजदर स्थिर नहुनु र निर्यात प्रवद्र्धनका योजना प्रभावकारी नहुनु मुख्य समस्या भएको उनले बताए । निराशा चिर्ने खालको बजेट ल्याउन उद्योगीको अपेक्षा रहेको उनले बताए ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले राज्यबाट उद्योगीको रकम लामो समयसम्म भुक्तानी नगर्दा कुनै कारबाही नहुने तर व्यवसायी केही दिन ढिलो गर्दा ठूलो हर्जाना लगाइने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।
उद्योगी रामप्रसाद बस्यालले कच्चा पदार्थभन्दा बाहिरबाट आउने तयारी वस्तुमा भन्सार दर दुई तह बढी भए स्वदेशी उद्योगलाई सहज हुने सुझाव दिए ।
यता उद्योगी जीवकान्त काफ्लेले सरकारी कार्यालयमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग राखे । सल्लाहकार लालहरि पाण्डेले हरेक वर्ष उठाइने यस्ता विषय कार्यान्वयनमा नजानु उद्योगमैत्री नीति निर्माणमा कमजोरी भएको दाबी गर्नुभयो ।
उद्योगीहरूबाट लिखित तथा मौखिक रूपमा उठाएका सबै सुझाव संस्थागत रूपमा सिएनआईमार्फत पठाइएको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले बताए ।
सुझाव संकलनका लागि सहभागी सिएनआईका निर्देशक हिमाल पौडेल र राजीव मजगैयाँले संकलित सुझावहरू तीन तहमा वर्गीकरण गरी तथ्यांकसहित सरकारलाई बुझाइने र सिएनआई सरकारको राजश्व परामर्श समितिमा समेत रहेकाले धेरै विषय कुनै न कुनै रूपमा सम्बोधन हुँदै आएको जानकारी दिए ।
कार्यक्रममा फेमस स्टिल उद्योगका सञ्चालक शाहिद अख्तरले स्टिल उद्योगमा गुणस्तर चिन्हको समस्या उठान गरे । हरेक वर्ष संघीय, प्रदेश सरकार र सिएनआईमार्फत ब्यवसायीहरुको सुझाव पेश गर्दै आएको संघका महासचिव सुमन बस्यालले बताए ।






















