बुटवल, ११ माघ । विद्यालयको पाठ्यक्रमसँंगै अतिरिक्त ज्ञान दिने उदेश्यका साथ अक्सफोर्ड माध्यमिक विद्यालयमा मोडल युनाइटेड नेशन (मुन) कार्यक्रम भएको छ । विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई विश्व राजनीतिबारे ज्ञान अभिवृद्धि र नेतृत्व विकासमा सहयोग पुग्ने उदेश्यले कार्यक्रम गरिएको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए ।
कार्यक्रमको उद्धघाटन गदै बुटवल उपमहानगरपालिका शिक्षा शाखाका उपनिर्देशक टिकाराम पन्थीले विद्यार्थीहरूमा विश्व राजनीतिबारे ज्ञान अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमता, तर्कशक्ति र कूटनीतिक संवाद कौशल विकासमा सहयोग पुग्ने गरि महत्वपूर्ण कार्यक्रम विद्यालयबाट भएको बताए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा दीप बोर्डिङ स्कुलका प्राचार्य टिकाराम न्यौपाने, लुम्बिनी प्रदेश अभिभावक संघका अध्यक्ष हेम थापा, अक्सफोर्ड कलेजका अध्यक्ष डा.अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनीले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक सिकाइमा जोड दिन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । कार्यक्रममा विद्यार्थीहरू विश्वका २७ देशका प्रतिनिधिका रूपमा सहभागी भई ती राष्ट्रका प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।






















