बुटवल, ६ माघ ।
रुपन्देहीमा सम्पन्न जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि अक्सफोर्ड माबिले चुमेको छ । शान्ति नमुना माध्यमिक विद्यालयको आयोजनामा मंगलबार सम्पन्न प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम हुदै नगद रु.१२ हजार, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भयो ।
उपविजेता न्यू होराइजन बोर्डिङ स्कुल भने नगद रु.९ हजार तथा तृतीय स्थान हासिल गरेको सुनगाभा मा.वि. नगद रु ७ हजारमा चित्त बुझायो । ग्रिन प्लान्ट बोर्डिङ भने प्रोत्साहन पुरस्कारबाट नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल प्राप्त गरेको संयोजक रचना पौडेलले बताईन । प्रतियोगितामा रुपन्देही जिल्लाका ३३ विद्यालयहरु सहभागी भएको थिए ।
कार्यक्रमको एक समारोहका बिच शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु पन्थी, विद्यालयका सल्लाहकार टेक बहादुर थापा, विद्यालय व्यवस्थापक समितिका अध्यक्ष शरद भट्टराईले विद्यार्थीको सृजनशिलता बढाउन र बौद्धिकस्तरलाई उकास्न कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालय र विद्यार्थीहरु बीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको बताए ।
त्यस्तै मंगलबार खाना महोत्सव समेत आयोजना गरिएको थियो । कक्षा आठ, नौ, एघार, बाह्र र डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूको सहभागितामा खाना महोत्सवको आयोजना गरिएको हो । विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आफै गरेर खानाका विभिन्न परिकार बनाएको कार्यक्रम संयोजक पिंकी शर्माले बताए । विद्यार्थीहरूले पास्ता, मम, फुल्की, चटपट, सेलरोटी, चुकौनी, अचार, ढिकरी, मन्चुरियन, पकौडाका परिकार बनाएका थिए । खाना महोत्सवमा ३० वटा स्टल राखेर परिकारको व्यवस्थापन गरिएको थियोे ।
यसैबीच ६७ औं वार्षिकोत्सवको अवसरमा माघ ७ गते विद्यालयमा रक्तदान, पुरस्कार वितरण कार्यक्रम गरिने भएको छ । वार्षिकोत्सवको मुल कार्यक्रम भने माघ ९ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले बताए ।






















