बुटवल, १ माघ ।
रुपन्देहीमा जारी यु–१४ अन्तर एकेडेमी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८२ मा न्यू होराईजन क्लब र वेष्ट्रन क्रिकेट क्लब विजयी हुदै अंक जोडेका छन । स्टार क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको पहिलो खेलमा न्यू होराईजनले गुरुकुल क्रिकेट एकेडेमीलाई ५५ रन तथा दोस्रो खेलमा वेष्ट्रनले देवदह क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै अंक जोडेको हुन ।
कर्मडाडास्थित खेलमैदानमा टस जितेर गुरुकुलले बलिङ रोज्दै ब्याटिङको निम्तो दिएपछि न्यू होराईजनले १५ ओभरमा छोट्याईएको खेलमा सबै बिकेट गुमाएर केवल ८३ रन बनायो । न्यू होराईजनका लागि आशिष यादवले २२ बलमा २६ तथा आरुष अधिकारीले १२ बलमा १४ रनको योगदान दिए । गुरुकुलका कृतग्य पन्तले ३ तथा बिप्सन घिमिरेले २ बिकेट लिए । कम स्कोर पछ्याएको गुरुकुल भने १५ ओभरमा नै सात बिकेट गुमाएर केवल २८ रनमात्र बनायो । गुरुकुलबाट कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन । कम स्कोरमा रोक्न न्यू होराईजनका आरुष अधिकारीले ३ तथा सहन अलि र अभिम भुषालले समान २–२ बिकेट लिए । खेलमा न्यू होराईजनका आरुष अधिकारी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको वेष्ट्रनले निर्धारित २० ओभरमा ६ बिकेटको नोक्सानीमा १०२ रन बनायो । वेष्ट्रनका श्रेयन्स ज्ञवाली २८ बलमा २१ रन तथा पुस्कर रायमाझीले १६ बलमा १६ रनको योगदान दिए । देवदहका कृस केसीले ३ तथा अरुण बेल्बासेले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको देवदह भने निर्धारित २० ओभरमा केवल ७१ मात्र जोड्न सफल भयो । देवदहका सक्षम पाण्डेले ३० बलमा १३ तथा अभिनास कुर्मीले २५ बलमा १८ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । कम स्कोरमा रोक्न वेष्ट्रनका सुसान्त भट्टराईले शानदार ५ तथा विशन बरईले २ बिकेट लिए । खेलमा सुसान्त प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा वेष्ट्रन क्रिकेट क्लब, स्टार क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी, देवदह क्रिकेट युनिट गरि रुपन्देहीका ८ क्लबका टिमहरुलाई दुई समुहमा विभाजन गरि लिग आधारमा खेल खेलाईएको छ ।
शुक्रबार पहिलो खेल न्यू होराईजन र काशी नोबेल तथा दोस्रो खेल स्टार क्रिकेट क्लब र देवदह क्रिकेट क्लबका बिचमा हुने एकेडेमीका प्रशिक्षक तथा पूर्व खेलाडी शक्ति गौचनले बताए ।





















