बुटवल, पुस । देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ । मानवसेवा आश्रमको सहकार्यमा बिहीबार घोषणा गरिएको हो । योसँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ भने सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने भएको हो।
देवदह नगरपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति, रूपन्देहीका प्रमुख उमानन्द चापाई, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रम र स्थानीय तहबीचको सहकार्यबाट देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा हुनु सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको महत्वपूर्ण उपलब्धि भएको बताए ।
मानवसेवा आश्रमले देशका विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको सहयोगापेक्षी सडकआश्रित मानवमुक्त अभियानमा देवदह नगरपालिका जोडिनु एक महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ । आश्रमले वि.सं। २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्यसहित देशभर अभियान तीव्र पारेको छ ।






















