बुटवल, २३ पुस ।
कृषि र उद्योग व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिए पनि सरकारी मान्यता नपाउँदा आवश्यक सुविधा र सहुलियतबाट वञ्चित हुनुपरेको रुपन्देहीका उद्योगी, ब्यवसायीहरुले गुनासो गरेका छन । रुपन्देही मिष्ठान क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको २१ औ वार्षिक साधारण सभामा बोल्ने ब्यवसायीहरुले आफुहरु सरकारको फितलो नीतिका कारण समस्यामा परेको दुखेसो गरे ।
एक समारोहका बिच कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघका अध्यक्ष तेविन्द्र रत्न शाक्यले सरकारबाट उद्योगको मान्यता पाउने घोषणा भएपनि ब्यवहारमा लागू नहुदा आफुहरु आवश्यक लाभ र सुविधाबाट बन्चित हुनुपरेको दुखेसो गरे । प्रत्यक्ष कृषि ब्यवसायसंग जोडिएको भएपनि विद्युत महशुल, करमा राहत पाउन नसकेको समेत उनको दाबी छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघका निवर्तमान अध्यक्ष लिला जिसि, संघका निवर्तमान अध्यक्ष लक्ष्मण पोखरेल, रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव कुमार खनाल, मासु ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले फितलो नीति ब्यवसायीहरुका लागि समस्या देखिएको गुनासो गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले विभिन्न राजनितिक उतारचढावका कारण थलिएको यो पेशामा आवद्घ ब्यवसायीहरुलाई मलहम लगाउने गरि सरकारबाट पहल जरुरी रहेको बताए ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष कमल पोखरेलले सामान ढुवानी, अधिकाश कृषि सामग्री प्रयोग गरि उत्पादन गरेपनि भ्याट बिल दिने, बजार ब्यवस्थापन, अस्वस्थ्य प्रतिस्प्रर्धा जस्ता समस्याहरु ब्यवसायीहरुलाई रहेको बताए ।
यसैगरि कार्यक्रममा सचिव केशवराज कंडेलले सागठनिक प्रतिवेदन, कोषाध्यक्ष रबिन्द्र कुमार श्रेष्ठले आर्थिक र लेखा समिति संयोजक बाबुराम घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । हाल संस्थामा १२५ जना ब्यवसायीहरु आवद्घ रहेका छन ।





















