बुटवल, २३ पुष ।
नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित साधारणसभाको उद्घाटन गदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मशलन्द तथा शैक्षिक सामाग्री उद्योग देशको शिक्षा, प्रशासनिक व्यवस्था र औद्योगिक विकासको आधारस्तम्भ भएको बताए । उनले स्वदेशी उद्योगको प्रवद्र्धन नगरी आर्थिक समृद्धि सम्भव नहुने बताउनै उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधानमा तीनै तहका सरकारहरु सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
साधारणसभामा स्वागत मन्तव्यसंगै संघको अवधारणा राख्दै बरिष्ठ उपाध्यक्ष मेख बहादुर अधिकारीले कच्चा पदार्थ आयातमा निर्भरता, कर प्रणालीको जटिलता, उत्पादन लागत वृद्धि, बजार व्यवस्थापन तथा नीतिगत अस्थिरता उद्योग क्षेत्रका मुख्य समस्या रहेको बताए । ती समस्याको समाधानका लागि संघ, सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उहाँको जोड थियो ।
कार्यक्रममा संघको विकास र सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै संघका पूर्व अध्यक्ष हरि प्रसाद भण्डारी, रामेश्वर पराजुली तथा निमनाथ फुयाललाई सम्मान गरिएको थियो । साधारणसभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूबीच विस्तृत छलफल गरिएको थियो । साधारणसभाले संघको २८ औं साधारणसभा २०८४ मा रुपन्देहीमा गर्ने निर्णय गरेको छ ।




















