बुटवल, १७ पुस ।
अग्रेजी नया वर्षमा शिरमा नेपाली टोपीसहित रक्तदान अभियान थालेको एम्स कलेज बुटवलले १३ औ संस्करणको कार्यक्रम गरेको छ । शिरमा टोपी, काधमा सामाजिक जिम्मेवारी नारासहित विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वमा जोड्ने गरि विहिबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो ।
एम्स कलेज बुटवल, स्कलर्स होम बोर्डिङ स्कुल, काउन्सिल अफ एम्स स्टुडेन्ट, अल्मुनी अफ एम्स स्डुडेन्टसको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं.९, पहिलो पाईला नेपाल, नमस्ते नेपाल, ओपेरा एजुकेशन बुटवल, स्टेरलिङ ईन्टरनेश्नल कलेज अफ हस्पिटालिटीको सहकार्यमा गरिएको कार्यक्रमको नेपाल विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे । युवाहरुलाई ब्यवहारिक ज्ञान दिदै बैचारिक रुपमा देशप्रति ओतप्रोतको भावना जगाउन जरुरी रहेको उनले बताए । देशको विकासमा युवा पुस्तालाई जोड्ने गरि अभियान थाल्नुपर्ने उनले सुझाव दिए । रेडक्रसको स्थापनाबारे जिकिर गर्दै दानका धेरै प्रकारहरु हुने र रक्तदान सबैभन्दा उत्तम दान भएको उनले बताए । रगत अभावमा रहेको बिरामीलाई रगतबाट नया जिवन मिल्ने उनले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले शैक्षिक र खेलकुद गतिविधिमा स्कलर्सको योगदानबारे चर्चा गर्दै अब आफुहरु प्राविधिक विषयलाई शुरुवात गर्दै दक्ष जनशक्ति उत्पादन गर्न लक्ष्य लिएको बताए । विश्वविद्यालयबाट प्रोगामलाई अनुमति नआउदा रोकिएको उनले दुखेसो गरे ।
कार्यक्रममा एम्सका क्याम्पस चिफ दिपक ढकालले शिरमा टोपीसंगै रक्तदान अभियानबारे प्रकाश पार्दै विद्यार्थीहरुलाई किताबी ज्ञानसंगै समुदायप्रतिको उत्तरदायित्व बोध गराउने गरि रचनात्मक कार्यक्रम निरन्तर चलाउदै आएको बताए ।
कार्यक्रममा संविधानविद डा विपिन अधिकारी, पूर्वाधारविद डा सुर्यराज आचार्य, नेपाल सरकारका पूर्व उपसचिव मान बहादुर घिमिरे, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सचिव टेक बहादुर थापा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोहरि बश्याल, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदाताहरुलाई सम्मानपत्रबाट सम्मान गर्दै रक्तदानको दायरा बढाउन जरुरी रहेको सुझाव दिए ।
नेरेसो रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो ।






















