सिन्धुली कलाघर पुग्ने सल्लाह पनि ओथारो बसिसकेको थियो । तैपनि मैले आश मारेको थिइनँ । एक दिन माधव नेपाल दाइले–जाम न त उसो भए,मैले मोटर खोज्छु भने । युवराज घिमिरेले जाने कुरामा समर्थनको टाउको हल्लाए । पारिवारिक भ्रमणका लागि जोडी खोज्ने प्रसंग चल्यो । माधव नेपाल दाइ र गमला भाउजूको नाम शीर्षभागमा आयो । युवराज र इन्दिरा अर्यालको जोडीले हुन्छ भनेपछि सविना लामा र मपनि पछि हटेनौं । त्यसैमा जोडिए खेमप्रसाद लुईटेल र शान्ता पंगेनीको लालजोडी । जोडीविहीनमा माननीय नेत्र पन्थी र अनन्त सिलवाल परे । माननीय भोजप्रसाद श्रेष्ठले दाङ जानु छ भनेर टक्टकीय ।
दाउन्नेमा चियापानी,कुराकानी……..
दिन मंगलवार,गते ८ थियो । महिना थियो पौष । साल २०८२ नै रह्यो । हुन त बुढापाकाहरुले भन्थे–मंगल नछुट्नू,शनि नजुट्नू । बालमतलव नराखी इभी मोटरमा विहान ६ वजे भनेको ७ बजे हुँइकियौं । चिसोले सताएपछि मोटरमा हिटर लगाइयो । पौष महिनामा नेत्र पन्थीले गर्मी भई ज्याकेट काढे । हिटरले धेरैलाई मतमताएछ पनि । अघिल्लो रातको भातलाई भूताह नपुग्दै वान्ता गरी बिसाउने साथी पनि थिए हाम्रै टोलीमा । कुल्ला गरेपछि पानीले, हल्ला नगरी दाउन्ने पुगियो ।
बेगरचिनीको गोरो चिया पिउनेको संख्यामा कालो चियामा चिनी नहाल्नेहरु पनि भेटिए । गमला भाउजूले,उमारेका गेडागुडी बट्टाबाट निकालेर दिइन् । सेलरोटीलाई माधव दाइले आगोमा सेके । चियामा डोबेर खाँदा त रोटीले, चिया नै तुर्दियो । तातो मटरको झोलले भोको पेट सेकें मैले । साथीहरुले अण्डा, आलुचप समेत खाए । पाल्पाली बेलबहादुर राईमगरको चिया पसलमा नास्ता गरेपछि इन्दिराले माईती गाउँका मान्छे भेटिएको हर्षमा भटाभट फोटो खिचिन् । हामी, दर्शक भयौं । कुनैबेलाको चल्तीको दाउन्नेको विजोग देख्दा मनै खिन्न भयो । बाटो बिस्तारको नाममा भएको ढिलाइ,धूलो,धूँवाका कारण दाउन्नेका होटल व्यवसायीहरुको उठीबासको कहानी कम्तिको पीडादायी छैन । कहिले बन्ला र बाटो,फर्किएला दाउन्नेको पूर्ववत् व्यापार ?
नवलपुरको थुन्सीमा ढिंडोसँग माछाको तातोझोल खाने इच्छा भएपनि समयाभावका कारण चितवनको टाँडीमा रासनग्रहण गरियो । चितवनको ईको चिल्ड्रेन पार्कमा पस्नुअघि नवजागृति सामुदायिक वनको कार्यालयमा स्थानीय अन्य वन उपभोक्ता समूहका साथीहरुसँग पर्यापर्यटन, उद्यान,सामुदायिक वन र संरक्षणका विषयमा करिव डेढघण्टा छलफल गरियो । चितवनका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आयार्यले उक्त कार्यक्रमको चाँजोपाँजो मिलाइ दिएका थिए । वनभित्र उद्यान रहेको र यसको उचित व्यवस्थापनमा सबैले मिलेर अघि बढ्नुपर्नेमा मतऐक्यता रह्यो । उद्यानका सन्दर्भमा मैले प्रिजेन्टेसन गरेको थिएँ । नेपाल उद्यान महासंघका केन्द्रीय अध्यक्ष खेमप्रसाद लुंइटेलले महासंघको पौष २५ र २६ गते हुन गइरहेको प्रथम अधिवेशनका लागि सहभागी सबैलाई शाब्दिक सुपारी बाँडे ।
ईको चिल्ड्रेन उद्यान हेरेपछि रमाइलो लाग्यो । बालबगैँचाको रुपमा विकसित उक्त उद्यानले बालबालिकाहरुलाई मनोरञ्जन दिने रहेछ । व्यवस्त भरतपुरको कोलाहललाई बिर्साउने यो उद्यानले नौलो आयाम समेत बोकेको रहेछ । कृत्रिम जनावर,थारु संस्कृति झल्किने आकृति ,पिङ, चिप्लेटीहरुले उद्यानप्रतिको आकर्षण देखियो । उक्त पार्कका अध्यक्ष नारायण जीले उपाध्यक्षलाई उक्त उद्यान घुमाउने गरी टूरगाईड बनाइ हामीसँग पठाएका थिए । छुट्टिने बेला फोटो खिचियो ।
सहिद स्मारकको सन्ध्याकालीन अवलोकन…..
हेटौंडा पुगियो साँझको पाँच बजेतिर । हामीलाई कुरेर बसेका रहेछन् बाग्मति प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल । उनीसँगै थिए नेपाल उद्यान महासंघका उपाध्यक्ष रघुनाथ खुलाल । उद्यानका सन्दर्भमा छलफल भयो । साथीहरुले केही गम्भीर मुद्दाहरु उठान गरे । सो विषयको छिनोफानो प्रथम अधिवेशले गर्ने महासंघका सल्लाहकार डोरमणि पौडेलले बताए । अध्यक्ष खेमप्रसादले मकवानपुरबाट धेरै उद्यानहरुलाई सहभागी हुन अपील गरे ।
हेटौंडाको शहीद स्मारक हेरियो सन्ध्याकालीन प्रहरमा । झिलीमिलीमा विपत्तै रमाइलो भयो । युवराजले बुटवलको फूलबारीमा समेत सन्ध्याकालीन सेवा दिने विषयमा आपूmहरु सक्रिय रहेको सुनाए । उक्त उद्यानलाई देशकै नमूनाका रुपमा हेर्ने बनाउनमा डोरमणि पौडेलको भूमिका अग्रहणी देखिन्छ । साथ,समर्थन र सहयात्राका सारथिहरु थुप्रै छन् उनका । चिटिक्क परेको बगैँचा,शहीदहरुको शालिक,प्रतिमाहरुले एकपटक विगतलाई सम्झायो । उनीहरुप्रति नतमस्तक भइयो । श्रद्धाले शीर झुक्यो । कोसेली घरभित्र रहेको वीपी र पुष्पलालको शालीक देखेपछि मनमा अनेक खुल्दुली नलाग्ने कुरै भएन ।
खाना खाएपछि हेटौंडाकै ब्राण्ड होटलमा सुताइ भयो । इन्दिरा मेडम,गमला भाउजू र सबिना लामा खुबै नाँच्ने रहर गरेका थिए । तर, भोलिपल्ट सिन्धुली कलाघरमा नाँचगान गरिने भएकाले दुःख नगर्न मैले अनुरोध गरेपनि उनीहरुले भजनमा आफ्ना कम्मर मर्काए,लच्काए । यसमा हाम्रो कुनै गुनासो रहेन । केही साथीहरु, होटल नजिकै रहेको डान्सबारको हल्लाका कारण रातभर सुत्न नसकेको कुरा विहान थाहा पाइयो । होटल सञ्चालकको व्यवस्थापन अभावको कारण हाम्रो प्रातःकालीन यात्रामा एकघण्टा ढिलाई भयो ।
सालीसँगै सिम्रनगढतिर ….
बाराको तीन नम्बर पुलमा चिया,अण्डा,सेलरोटी र चप खाएपछि इभीले गति लियो । विहानको नौ नबज्दै हामी बाराको नीजगढ पुगेका थियौं । नीजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ र स्थानीय उद्यानका पदाधिकारीहरुसँग विहानको चियागफ चल्यो । उद्यान सञ्चालनको क्रममा मुद्दामामिला ब्यहोर्न परेको कुराले नरमाईलो लाग्यो । नाताले साली पर्ने सोममायाले आफ्नो पालिकाले उद्यान सञ्चालनका लागि केही वजेट विनियोजन गरेपनि व्यवस्थापनको पाटोमा उन्नतशील कार्य गर्न नसकेको बताइन् । आइडिया नभई अड्कलको भरमा सञ्चालन र व्यवस्थापन गर्न खोजेपनि उद्यानले गति लिन नसकेको सुनाइन् ।
चिया गफपछि बारा सिम्रनगढको दरवार हेर्न पुगियो । कलात्मक दरवार देखियो । मन्दिरमा दर्शन गरियो । फर्केर नीजगढमा सालीको पाहुना बनियो । सालीका साथी बनिसकेका थिए सहभागी हाम्रा महिला टोली । सिन्धुलीसम्म पुग्न अनुरोध गरेका थिए सालीलाई । सर्लाहीको भरत ताल घुमुञ्जेलसम्म हामीले उनलाई सिन्धुलीतिर सँगै लैजाने भनेर पर्खिने नाममा पानीजहाज चढियो । ऊँट चढियो । चिया पिइयो । तर, उनले अनुगमन जाने कामलाई प्राथमिकता दिएको खबर दूरभाष यन्त्रबाट मालुम भयो ।
साहसी र संघर्षशील सुमनसँग कलाघरमा …..
महोत्तरीको बर्दिबासमा तरुल किन्ने नाममा स्कूसको जरा किनियो एक हजारमा पाँच किलोग्राम । सिन्धुलीको भिमानमा सोमबहादुर हायूसँग भेट गरियो । ७८ वर्षीय उनलाई पुस्तक उपहार दिएँ । लोपोन्मुख जातिभित्र पर्ने हायूको संख्या यतिबेला नेपालमा करिव तीन हजार होला । नेत्र पन्थी, माधव दाइ र मैले फोटो खिचियो उनीसँग । झमक्क रात पर्यो । पत्रकार विमला पाण्डेयसँग सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा भेटियो । इन्दिराको साथी रहेछिन् उनी । चियाबारीमा इभीको चार्ज गर्ने मौकामा निर्जला रानाकी बहिनीकहाँ चिया पिइयो । हामी सिन्धुली कलाघर पुग्दा सवा सात बजेको थियो साँझको । बाजा बजाएर,माला लगाएर स्वागत गरे । तातोतातो खानाले भोको पेट सेकियो । कलाघरका अध्यक्ष सुमन थापाले कलाघर,संग्रहालय अवलोकन गराए राति नै । उज्यालो प्रकाशमा संग्रहालय सुन्दर देखियो ।
राष्ट्रिय संग्रहालयका रुपमा विकास हुँदै गएको सिन्धुली कलाघरको महिमा बढ्दै गएको प्रत्यक्ष अवलोकनपछि हेक्का भयो । हामीहरु सुमन थापाको कलाघरमा पाहुना बन्यौं । पाँच वटा कोठामा मज्जाले न्यानो गरी सुत्नुअघि सुमनसँग कलाघरको तीता अनुभवहरु सुन्यौं । विगतले उनलाई नोस्टालजिया बनायो । माधव दाइले उनको विगतको बयानलाई ध्यानपूर्वक सुनेर साथ दिइरहे । क्याम्पस पढ्न सिन्धुली सदरमुकाम झरेको,डेरामा बसेर कला,संस्कृतिका बारेमा व्यापक छलफल गरेको,नृत्य तालिम केन्द्र खोलेको,तालिम लिने केही सिकारुले पैसा नदिएको,डेरा भाडा तिर्न नसक्दाको पीडा सुमनले एकमेसै सुनाए । उनको कुराले हामी भावुक भयौं ।
विगतमा कलाकार बन्न गरेको संघर्ष र सिन्धुली कलाघरको वर्तमान सफलता एकै दिनमा आएको होइन भन्ने प्रमाण हामीलाई सुमनले दिदै थिए । कलाघरमै बस्नेहरुमात्र कलाघरको सञ्चालक समितिमा रहन पाउने व्यवस्था रहेछ । कलाघरमै कलाकारहरु आवासीय रुपमा बस्दा रहेछन् । एउटै मेसमा पकाएर खाँदा रहेछन् । कार्यक्रम नभएको बेला आफ्नो कला र गलालाई तिखार्ने रहेछन् । निर्माण कार्यमा श्रम गरेर पसिना बगाउँदा रहेछन् । कलाघरलाई कला पाठशाला बनाउने, कला आश्रम बनाउने,विश्वका सबै देशहरुको कलाकृति बनाइ विश्व कलाघर बनाउने उनीहरुको अठोटलाई लाख सलाम गर्दा पनि सम्मान पुग्दैन । सुत्दा,रातको १२ बज्नै आँटेको थियो ।
बाजासँगै बेजोड नृत्य…………
विहान उठेर फर्फराई रहेको झण्डालाई साक्षी राखेर सूर्योदयका साथ फोटो खिचियो । उत्तरतिरको दन्तेलहरमा सजिएका हिमाललाई दर्शन गरियो । कलाघरबाट देखिएका हिमाल,पहाड र तराईका भू–दृश्यहरुलाई आँखाभरि सजाइयो । चिया खाइयो,चियाको किट्लीसँगै बसेर । कलाघरको परिसरमा जयनन्द लामा र इन्दिरा गोलेको प्रतिमा राखिएको रहेछ । पशुपतिनाथ,स्वयम्भू,रामजानकी मन्दिरको दुस्तै प्रतिमा र जुनारको बोट र दाना देखेपछि मनै फुरुङ्ग भो । भयङ्कर फलामको मादल र त्यहाँभित्र जातीय संग्रहालय अनि कार्यक्रम प्रस्तुत गर्ने सभाहल बनाउने काम दनादन सुरु भएको देखेर अचम्मै परियो ।
घुमाउने घर अघिको आगनमा विहानै कलाकार साथीहरुले नृत्य र नौमति बाजा सुरु गरे । गमला भाउजू, इन्दिरा, शान्ता र सविनाले नृत्यको ढोका उघारे । दोस्रो चरणमा हामी नाँच्ने पालो आयो । माधव दाइ र अनन्त सिलवालले पुरुषतर्फको नृत्यमा नाक राखे । सबैले मिलाएर सक्दो दान थालीमा चढाइयो । आगन्तुक पुस्तिकामा शुभेच्छा लेखियो । गुलावको फूल उपहार प्राप्त भयो हामी सबैलाई,सम्झना स्वरुप । विदाइ गेट नजिक रहेको सुमनको घरमा उसिनेको स्कूस नूनसँग डोबेर मनग्यै खाइयो । पहिलो पटक खाइएको उक्त चीज,रेशादार रहेछ । मीठो लाग्यो । तरुलजस्तै फोकेर खाँदाको स्वाद बेग्लै रहेछ ।
बिदाईको हात हल्लाइयो । नरमाईलो लाग्यो विछोडको पीडा । हामीसँगै कलाघरकी सचिव रीता थिङ पनि सिन्धुली गढी,किल्ला हेर्नेमा प¥र्यौं । गढी नजिकै सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै… । गीतका सर्जक कृष्णविक्रम थापाको शालीकलाई साक्षी राखेर फोटो खिचियो । गढी प्रवेशद्वारनिर हामीले जुनार,गेडागुडी किन्यौं । नागबेली बाटो काट्दै गर्दा रीताले बेजोड गजल अनि कविता सुनाइन् । मैले पनि एक दुई थान कविता सुनाएँ । साथीहरु हाम्रा साहित्यिक साक्षी भए ।
सिन्धुलीमाडीको थकाली होटलमा खाने खाने प्रवन्ध रीताले मिलाइन् । उनलाई त्यतै छाडेर पत्रकार विमलाको अगुवाईमा सिन्धुली जर्बुट्टा केन्द्रको अवलोकन गर्ने अवसर मिल्यो । एकछिन हामीले जरा र बुटाबाट बनेका कला हे¥यौं । ढिला भइसकेकोले मदन भण्डारी लोकमार्गको १२० किलोमीटर बाटो नाप्दै हेटौंडा पुग्नका लागि माइत हिडेकी महिलाको गतिमा सुइँकियौं । सवा दुई घण्टामा हामीले हेटौंडा छोईयो । टाँडीमा युवराज झरे,सौराह जानका लागि ।
नारायणघाट आउँदा सात बज्दै थियो । दाउन्ने नकुञ्जेलसम्म पानी नपिउने र पिसावसमेत नफेर्ने सल्लाह भएपछि इभीले आँखा नहेरी कुद्यो । दाउन्नेको जाममा परिएन । सुनवलतिर हामीले खाना खाइयो । इभीको चार्जको अभावले मनै आत्तियो । बुटवल घरमा आइपुग्दा रातको ११ बज्दैथियो । जाडोमा सिरकले मुख छोपेर सिन्धुलीको यात्रा सम्झेर सुत्यौं ।
समीक्षासँगै समापन ………
१५ पुषमा भ्रमणको समीक्षा र पुषे १५ मनायौं । डोनर थिए माधव दाइ र गमला भाउजू । भ्रमणमा भोगेका,देखेका र अनुभव गरेका सबै कुराहरुलाई भ्रमणका यात्रीहरुले दुरुस्तै बताए । भ्रमण नगएकामध्येका माननीय भोजप्रसाद श्रेष्ठले समेत हाम्रा अनुभव सुने । प्रायश्चित गरे मूल्यवान यात्रा छुटाएकोमा । खानपिनपछि नृत्य कार्यक्रम गरियो । जाडो भगाउन । माननीय भोजप्रसादको नृत्य सुन्दर रहेछ । उनको रामपुरे,पाल्पाली नृत्य अति नै मनमोहक थियो । पारिवारिक र प्रासङ्गिक भ्रमणको समीक्षासहित एकले अर्कालाई धन्यवाद दिइयो । आगामी दिनमा समेत यस्तो भ्रमणले निरन्तरता पाओस् भन्ने सहभागीको विचार थियो । साँचिक्कै सिन्धुलीको यात्रा,नबिर्सिने खालको भयो । समीक्षासँगै भ्रमणको औपचारिक समापन न्यू इरा होटलमा गर्यौं ।




















