Spread the love

बुटवल, ११ पुस । नेपाली समाज छुवाछुत र थिचोमिचो सहनुपर्ने अवस्था रहनु ठूलो बिडम्बना भएको एक कार्यक्रममा वक्ताहरूले गुनासो गरेका छन् । तिलोत्तमा परियार समाजको शुक्रबार सम्पन्न प्रथम साधारणसभामा बोल्ने वक्ताहरूले समुदायको सशक्तीकरणका लागि संगठित प्रयास अपरिहार्य भएकोमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष देवीप्रसाद पङ्गेनीले संस्था जन्माउन सजिलो भए पनि त्यसलाई सक्रिय र लक्ष्य केन्द्रित बनाउनु चुनौतीपूर्ण हुने बताए । परियार समाजबाट भवन निर्माणको उद्देश्य राखेको उल्लेख गर्दै उनले वडा नम्बर ७ मा सीमित जग्गा भएकाले सबै संघसंस्थालाई जग्गा उपलब्ध गराउन नसकिएको स्पष्ट पारे ।
कार्यक्रममा परियार समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले करिब ३५ सय वर्षदेखि भोग्दै आएको थिचोमिचोका कारण मान्छे भएर पनि मान्छेको दर्जा नपाउनु दुःखद रहेको बताए । अघिल्लो पुस्ताका गल्ती देखाएर अहिलेको पुस्तालाई दोष दिन नहुने उनको भनाइ थियो । उनले आउँदो चुनावमा मासु र रक्सिमा भोट नहाल्न आग्रह गर्दै, विवेक प्रयोग गरी आफ्नो जाति र वर्गको उत्थान गर्न सक्ने सक्षम व्यक्तिलाई मतदान गर्न अपिल गरे । कार्यक्रममा समाजका विशिष्ट सल्लाहकार जंगबहादुर बुढाथोकीले २०२४ सालमा स्थापना भए पनि नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाका रूपमा अघि बढ्दै गर्दा प्रथम साधारणसभा आयोजना गरिएको जानकारी दिए । तिलोत्तमा नगरपालिकाभित्र परियार समुदायको करिब ३५ हजार जनसंख्या रहेको उल्लेख गर्दै समुदायको हकहितमा संगठित पहल आवश्यक रहेको बताए ।

तिलोत्तमा परियार समाजका अध्यक्ष भिमबहादुर परियार, सल्लाहकार लब्सन परियारले २१ औँ शताब्दीमा पनि छुवाछुत र थिचोमिचो सहनु ठूलो विडम्बना भएको टिप्पणी गरे । उपाध्यक्ष कमल बरालले तिहारमा नौमती पञ्चेबाजा मार्फत भैलो खेल्दै आर्थिक संकलन गरी बाजालाई व्यवस्थित गर्न सफल भएको जानकारी दिए ।
साधारणसभामा नौमती पञ्चेबाजाको प्रस्तुति समेत गरिएको सचिव राजु परियारले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्