Crowd of people in program
Spread the love

बुटवल, बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा दैनिक अवलोकनकर्ताको भिड लागेको छ । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना जारी महोत्सवमा बिहीबार करीब ६० हजार बढी दर्शकहरु प्रवेश गरेको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले बताए । क्रिसमसको सार्वजनिक बिदा परेको हुदा पनि प्रदर्शनीस्थलमा दर्शको भिड लागेको उनको दाबी छ ।

प्रवेशद्वारामा अवलोकनकर्ताको घुँइचो लाग्न सुरु भएको थियो । दिनभर र साँझ अबेरसम्म प्रदर्शनीस्थलको गेटदेखि सबै स्टल तथा कार्यक्रमस्थलमा भरिभराउ देखिएको थियो । पुस ३ गतेदेखि शुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्ने भएकाले बिहीबार दोस्रो बिदाको दिन परेकाले पनि यति धेरै अवलोकनकर्ता आएको आंकलन आयोजकको छ ।

औद्योगिक प्रदर्शनीको पहिलो सातामा करिब एक लाख अवलोकनकर्ता पुगेका थिए भने ८ करोडको कारोबार भएको थियो । बिहीबार एकैदिन थपिएको ठूलो संख्याको अवलोकर्ता र बिक्रीको आधिकारिक विवरण संकलन नभएकोे संघका द्वितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन समितिका संयोजक युवराज आचार्यले बताए । यो प्रदर्शनीमा ंस्वदेशी उत्पादनहरुका स्टल मात्रै रहेका छन् ।

संघका कोषाध्यक्ष विशाल बेलवासेले प्रदर्शनीको पहिलो सातामै करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आएको र ८ करोड हाराहारीमा कारोबार भएको जानकारी दिए । पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो ।

बिहीबार दिनभर घाम लागेको र मौसमले पनि साथ दिएकाले अवलोकनकर्तालाई सहज भएको देखिएको थियो । महासचिव सुमन बस्यालले प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तक्र्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिरहेको जानकारी दिए ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रचार प्रसार संयोजक किरण खरेलले बताए । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु समेटिएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्