Spread the love

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टी सभापति पदका लागि तीन नेताले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिका लागि वर्तमान सभापति गगनकुमार थापा, काठमाडौं क्षेत्र नम्बर–६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी र पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले मनोनयन दर्ता गराएका हुन् ।

मंगलबार भएको मनोनयन दर्तामा सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि सभापति गगनकुमार थापाले मनोनयन दर्ता गराए भने अन्तिममा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गरेका थिए । मनोनयन दर्ताको प्रक्रिया मंगलबार दिउँसोदेखि साँझसम्म चलेको थियो । थापा गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थिए । यसअघि उनी १४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । १५औँ महाधिवेशनमा उनले पार्टीको पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने उद्देश्यसहित सभापतिमा उम्मेदवारी दिएको बताएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर–६ का क्षेत्रीय सभापति हुन् । खड्गीले विगतमा गगन थापा अध्ययन गरेको विद्यालयमा शिक्षकका रूपमा समेत काम गरेका थिए ।

राठौर कांग्रेसका पूर्वसहमहामन्त्री तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् । उनी १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए। उनले पार्टीलाई एकताबद्ध बनाउने तथा संगठनमा अनुशासन र राजनीतिक संस्कारलाई प्राथमिकता दिने एजेन्डासहित सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

शर्मा र भुसाल निर्विरोध

सभापति पदमा तीन जनाको प्रतिस्पर्धा तय भए पनि कांग्रेसका दुई महत्वपूर्ण पदमा भने एकल उम्मेदवारी परेको छ । कांग्रेसले पहिलोपटक व्यवस्था गरेको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ । त्यस्तै, महिला उपसभापति पदमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । दुवै पदमा एकल उम्मेदवारी परेपछि शर्मा र भुसाल निर्विरोध भएका हुन् ।

यसपटक कांग्रेसको विधानअनुसार वरिष्ठ उपसभापति एक, महिला उपसभापति एक तथा खुला र समावेशी समूहबाट अन्य उपसभापति निर्वाचित हुने व्यवस्था छ । खुला उपसभापति पदका लागि भने नौ जनाको उम्मेदवारी परेको छ ।

सभापतिसँगै उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा समेत ठूलो संख्यामा उम्मेदवारी परेको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि असोज २२ गते मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ । यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा औपचारिक रूपमा निर्वाचन चरणमा प्रवेश गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्