काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बिहानीपख कुहिरो लाग्ने सम्भावना समेत रहेको छ ।
राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।
तराईका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।





















