Spread the love

रुकुम पश्चिम । प्रहरी टोलीलाई कर्तव्य पालनमा बाधा पु¥याएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–३ का करिब ३३ वर्षीय गोपाल विकविरुद्ध अभद्र व्यवहारसम्बन्धी जाहेरी परेपछि प्रहरीले उनको खोजतलास गरिरहेको थियो । सोही क्रममा असोज २० गते बिहान करिब ९ बजे मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिर नजिक सडकमा गोपाल विक फेला परेका थिए ।

प्रहरीले गोपाल विकलाई अभद्र व्यवहारसम्बन्धी जाहेरी परेको जानकारी गराउँदै प्रहरी कार्यालयमा ल्याउने क्रममा उनका दाइ तथा आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष करिब ३६ वर्षीय केशरमान विकले प्रहरी टोलीसँग विवाद गरेका थिए । प्रहरीका अनुसार वडाध्यक्ष केशरमानले अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै प्रहरी टोलीमाथि धकेलाधकेल गरेका थिए । साथै, प्रहरीको साथमा रहेका आफ्ना भाइ गोपाल विकलाई छुटाउन खोज्ने क्रममा ड्युटीमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि हातपात गरी कपडासमेत च्यातिदिएको प्रहरीको आरोप छ ।

कर्तव्य पालनमा बाधा अवरोध गरेको आरोपमा विकलाई सोही स्थानबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष केशरमान विक यसअघि पनि विभिन्न आपराधिक घटनामा मुद्दा खेपिसकेका व्यक्ति हुन् । प्रहरीको विवरणअनुसार २०७६ सालमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आदेशले १० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो ।

त्यसैगरी २०७७ सालमा अमृते बोहरासहितको जाहेरीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धानपछि जिल्ला अदालत रुकुम पश्चिमको आदेशले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाडिएको थियो । त्यस्तै, २०७७ सालमै तारकबहादुर शाहीको जाहेरीमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आदेशले २४ हजार रुपैयाँ धरौटीमा छाडिएको प्रहरी विवरणमा उल्लेख छ । प्रहरीले वडाध्यक्ष विकको चालचलन सन्तोषजनक नभएको र विगतमा पनि विभिन्न घटनामा संलग्न हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयबाट जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्