बुटवल । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले बुटवलमा ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गरिएको छ । युवापुस्तामा लोकप्रिय बन्दै गएका सडक संस्कृति र साहसिक गतिविधिलाई प्रवद्र्धन गर्ने गरि रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित डिङ्गरनगरमा रहेको ढुंगा स्केट एड स्केट पार्कमा शनिबार वृहत कार्यक्रम गरिएको हो ।
काठमाडौंमा सुरु गरिएको ‘पल्सर आरपीएम’ कार्यक्रम राजधानीबाहिर पहिलोपटक बुटवलमा आयोजना गरिएको आयोजकको दाबी छ । कार्यक्रममा युवाहरुले मोटरसाइकल स्टन्टसँगै विभिन्न साहसिक खेल तथा सडक संस्कृतिसँग सम्बन्धित प्रस्तुतिहरु दिएका थियो । बुटवल तथा आसपासका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने गरि विविध साहसिक र रचनात्मक खेलहरुको प्रतियोगिता गरिएको स्केट पार्कका संयोजक जागृत पहाडीले बताए ।
जसमा बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ¥याप, डिजे प्रस्तुति तथा ग्राफिटीलगायत गतिविधि प्रस्तुत गरे । मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै युवाको आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । विभिन्न प्रस्तुति हेर्न पुगेका युवायुवतीले कार्यक्रमलाई मनोरञ्जनका साथ अवलोकन गरेका थिए ।





















