काठमाडौं,१३ असोज ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन असोज १८ गते हुने भएको छ । असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भए पनि दुई दिन सरेर अब असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन समारोह हुने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिएका हुन्। विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको उल्लेख गर्दै महाधिवेशनको उद्घाटन असोज १८ गते हुने विज्ञप्ति उल्लेख छ ।





















