Spread the love

काठमाडौँ । संगीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति संगीत पुरस्कार’ यस वर्ष वरिष्ठ संगीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थित लभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिले बास्कोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सम्मान गरेको हो ।

मिरिकमा आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डी. केगिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राइलगायतले बास्कोटालाई पुरस्कार प्रदान गरेका थिए।

अम्बर गुरुङका कालजयी धुन तथा सांगीतिक सिर्जनालाई नयाँ पुस्तामाझ स्मरण र संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। सोही अवसरमा बास्कोटालाई सम्मान गरिएको संस्थाले जनाएको छ।

संस्थाले स्रष्टा–सर्जकलाई गरिने सम्मानले उनीहरूको सिर्जनायात्राप्रति कृतज्ञता व्यक्त गर्नुका साथै नेपाली कला तथा संस्कृतिको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सन् १९७१ मा संगीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक सांगीतिक यात्रा सुरु गरेका बास्कोटाले नेपाली संगीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान दिँदै आएका छन्। उनले ३६४ भन्दा बढी नेपाली चलचित्रमा संगीत निर्देशन गर्नुका साथै दुई हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका छन्।

नेपाली चलचित्र संगीतमा समेत महत्वपूर्ण योगदान पु¥याएका बास्कोटाका सिर्जना र संगीतले नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि प्रभाव पार्दै आएको छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्