काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
नागोयास्थित कोरोगी स्पोर्टस् पार्कमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल लगातार वर्षाका कारण सुरु हुन सकेन। वर्षा नरोकिएपछि टससमेत हुन नसकेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
प्रतियोगिताको नियमअनुसार वर्षाका कारण खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै सेमिफाइनलमा प्रवेश गराउने प्रावधान छ। सोही प्रावधानअनुसार श्रीलङ्का सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
हालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा श्रीलङ्का नवौँ तथा नेपाल १४औँ स्थानमा रहेका छन्। नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण शनिबार नेपाल र आयोजक जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो।
समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। जापानसँगको अन्तिम खेल वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँड्दै नेपाल क्वार्टरफाइनलमा पुगेको थियो।
क्वार्टरफाइनलमा समेत वर्षा बाधक बनेपछि नेपालले मैदानमा प्रतिस्पर्धा नगरी नै एसियाली खेलकुदको यात्रा टुङ्ग्याएको छ ।





















