चितवन । चितवनको भरतपुरबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा भरतपुर महानगरपालिका–२, आँपटारीस्थित एक घरबाट २५ वर्षीय भारतीय नागरिक कथराम नितिनलाई पक्राउ गरेको हो ।
प्रहरीले नितिनको साथबाट मोबाइल २६ थान, ल्यापटप २ थान, एनसेलका सिमकार्ड ७७ थान, नेपाल टेलिकमका सिमकार्ड १८ थान, सीपीयू ४ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, २० पोर्टका यूएसबी ६ थान, यूएसबी सेलुलर मोडेम ३३ थान, यूएसबी ओटीजी टु अडियो केबल ३० थान, नेटवर्क स्विच १ थान, इन्टरनेट राउटर २ थान तथा विभिन्न प्रकारका डेटा केबल बरामद गरेको छ ।
प्रहरीका अनुसार उनलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसुरमा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्रीहरू अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको खुलेको प्रहरीले जनाएको छ । बरामद उपकरण तथा सामग्री अवैध कल बाइपासमा कसरी प्रयोग भइरहेको थियो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















