Spread the love

बुटवल, २६ भदौ । खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम गर्ने विषयमा उद्योगी तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको आयोजना तथा रूपन्देही उद्योग संघ, बुटवलको सहयोगमा आयोजित कार्यक्रममा खाद्य स्वच्छता, गुणस्तर, खाद्य अनुमतिपत्र तथा उद्योगीले पालना गर्नुपर्ने मापदण्डका विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका प्रमुख अनुप हलवाईले खाद्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारणदेखि उपभोक्तासम्म पुग्ने सम्पूर्ण प्रक्रियामा स्वच्छता तथा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए । खाद्य स्वच्छता र गुणस्तर उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले उद्योगी तथा व्यवसायी थप जिम्मेवार बन्नुपर्ने उनले बताए ।
कार्यक्रमका रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले खाद्य स्वच्छता र गुणस्तर उद्योगको उत्पादनसँग मात्र नभई उपभोक्ताको स्वास्थ्य तथा उद्योगप्रतिको विश्वाससँग समेत प्रत्यक्ष जोडिएको बताए । उद्योगको सफलता उत्पादन र बिक्रीमा मात्र नभई उपभोक्ताले विश्वासका साथ प्रयोग गर्न सक्ने सुरक्षित तथा गुणस्तरीय उत्पादन दिन सक्नुमा निर्भर रहने उनले बताए ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय र उद्योगीबीच नियमित संवाद, सहकार्य तथा सहजीकरण आवश्यक रहेको अध्यक्ष पराजुलीले बताए । यस्ता अन्तरक्रियात्मक कार्यक्रमले उद्योगीलाई नीति, मापदण्ड तथा आवश्यक प्रक्रियाबारे स्पष्ट जानकारी दिनुका साथै उद्योग र नियामक निकायबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा खाद्य निरीक्षण अधिकारी गौरी हमालले खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित मापदण्ड, अपनाउनुपर्ने सावधानी र उद्योगीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरे । त्यसैगरी खाद्य अनुमतिपत्रको अनलाइन प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै खाद्य निरीक्षण अधिकारी प्रकाश भण्डारी तथा कम्प्युटर अपरेटर अनुप अधिकारीले अनलाइनमार्फत खाद्य अनुमतिपत्र लिन सकिने प्रक्रिया, आवश्यक विवरण तथा प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिए ।
कार्यक्रममा सहभागी उद्योगीहरूले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड, खाद्य अनुमतिपत्रको प्रक्रिया तथा अनलाइन प्रणालीका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा रूपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, द्वितीय उपाध्यक्ष युवराज आचार्य, कोषाध्यक्ष विशाल बेलबासे, कार्यसमिति सदस्यहरू यादव गैरे, दिलु शाही र रमेश आचार्यलगायत ४५ जना उद्योगी तथा सरोकारवालाको सहभागिता रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्