बुटवल, २६ भदौ ।
जन्मदिन भन्नेबितिकै केक, शुभकामना र साथीभाइसँगको रमाईलो धेरैको दिमागमा आउँछ । तर तिलोत्तमा नगरपालिकाका सृजन ढकालको शुक्रबार आफनो १८ औ जन्मदिनलाई फरक ढंगले मनाएका छन् । उनले १८ बर्ष पूरा गरेको दिन पहिलोपटक रक्तदान गरे । जन्मदिनको अवसरलाई सामाजिक सेवासँगै वृक्षारोपण तथा सामुदायिक विद्यालयका जेहेन्दार ६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरे । जन्मदिनमा हुने सामान्य खर्चलाई मनोरञ्जनमा मात्र सीमित नगरी सामाजिक सेवामा लगाउने उद्देश्यले रक्तदान तथा वृक्षारोपण गरिएको ढकालले बताए ।
शितलकुन्ज टोल विकास संस्था र त्रिशक्ति काष्ठ स्टील तथा मेटल प्रालि एवं नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरभित्र युवा पुस्तालाई संस्कारको माध्यमबाट सामाजिक कार्यमा अग्रसर गराएको बताए । तिलोत्तमा नगरका नागरिकहरु आफनो जन्मदिनमा रक्तदान र हरियाली अभियानमा जोडेर अघि बढ्न आग्रह गरिएको उनले बताए । तिलोत्तमा बासिन्दालाई २० पोईन्ट रगत निशुल्क उपलब्ध गराउदै आएको भन्दै उनले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्दै आएको बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले तिलोत्तमा नगरपालिका २०७४ मा निशुल्क रक्तदान घोषणा गर्ने देशकै पहिलो पालिका भएको बताए । जिल्लामा वार्षिक ३६ हजार युनिट रगत आवश्यक पर्ने भन्दै उनले अहिलेको रक्तदाताहरुबाट मात्र अब पुग्ने अवस्था नरहेको बताए । ‘अब नया रक्तदाता जन्माउनुपर्छ ।’–उनले भने । अहिलेका रक्तदाताहरुमा १८ देखी ३० उमेर समुहको रक्तदाता कम रहेको भन्दै उनले युवा रक्तदाताहरु खोज्ने र रक्तदान अभियान चलाउन जरुरी रहेको बताए । स्थानिय विद्यालयहरुमा समेत १८ प्लससंगै रक्तदान अभियानमा जोड्ने अभियान चलाउन जरुरी रहेको उनले बताए । एउटा ब्यक्तिले १८ वर्षसंगै रक्तदान शुरु गरेमा ६५ वर्षसम्म पुग्दा १९२ पटक रक्तदान गर्न सक्ने बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं ४ का वडाअध्यक्ष हरि बहादुर क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष सागर पाठक असल अभ्यासका रुपमा उदाहरणिय रुपमा अन्य कामसंग जोड्नुपर्ने बताए ।
कार्यक्रमका संयोजक दिवाकर ढकालको आफनो छोराको १८ औ जन्मदिनमा रक्तदान एवं शैक्षिक सामग्री विवरण कार्यक्रममा सहभागी सबैप्रति विशेष धन्यबाद दिदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई समुदायमा जोड्दै जाने बताए । रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको उनले बताए ।



















