बुटवल, २५ भदौ ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवलमा वृहत् सचेतनामूलक साइकल ¥याली आयोजना गरिएको छ । “सोच बदलौँ“, “संवाद सुरु गरौँ“ नारासहित लायन्स क्लब अफ बटौलीको आयोजना क्वीस्ट फार्मा, नेश्नल प्याथ ल्याब, हाम्रो आफनो ईन्टरप्राईजेजको सहयोगमा विहिबार साइकल ¥याली गरिएको हो ।
योगीकुटीबाट शुरु भएर रयाली तिलोत्तमा नगरपालिकाको तपाहा लाईन हुदै मणिग्राम, १० नम्बर, ड्राईभर टोल हुदै पुनः योगीकुटीमा आएर समापन भएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले उद्घाटन गर्दै विश्वमा नै मानसिक स्वास्थ्यको समस्या बढ्दो रुपमा रहेको बताए । आजको मोबाईलको जमानामा ओभरथिङकिङ, एन्जाईटि, डिप्रेसन जस्ता मानसिक स्वास्थ्यका समस्याहरु सामान्य भएको भन्दै यसका लक्षणहरुलाई बुझदै समाधानमा लाग्नुपर्ने उनले बताए । सचेतना कार्यक्रममार्फत थोरै भएपनि समुदायमा बुझाउन मद्यत मिल्ने गरि निरन्तर अभियान चलाउन जरुरी रहेको उनले बताए ।
समापन कार्यक्रममा नेपाल मनोचिकित्सक संघका केन्द्रिय अध्यक्ष प्रा.डा. सन्दिप सुवेदीले विश्व आत्महत्या दिवस धेरै महत्वपूर्ण दिवसको रुपमा रहेको बताए । हरेक दिनजसो नेपालमा २० जना ब्यक्तिले आत्महत्या गर्ने तथ्याक रहेको तथा २ सय जनाले दैनिक आत्महत्याको प्रयास गर्ने तथ्याक रहेको उनले बताए । रोकथाम गर्न सकिन्छ भन्ने सोचका साथ २००३ बाट यो दिवस मनाउन थालिएको उनले बताए । आत्महत्या गर्न तयार हुने मानिसको पछाडी ठूलो कथा हुने भन्दै उनले मानसिक रुपमा पिडा त्यो आर्थिक, सामाजिक, पारिवारीक रुपमा हुन सक्ने बताए । समयमा नै पहिचान गरि बोल्न सक्ने समय दिएर पिडा सुनेको खण्डमा पनि आत्महत्याको कोशिश रोकथाम गर्न सकिने उनले बताए । ८० देखि ९० प्रतिशत आत्महत्या गर्ने मानिसहरु कुनै न कुनै मानसिक समस्याबाट ग्रसित हुने डब्लु एचओको तथ्याकबाट पुष्टि भएको उनले बताए ।
कार्यक्रममा मनोरोग विशेषज्ञ डा. मनोज ढुगानाले पछिल्लोसमय जल्दोबल्दो विषयका रुपमा आत्महत्याका घटनाहरु देखिएको बताए । विश्वमा ७ लाखभन्दा बढीले आत्महत्यामार्फत मृत्युवरण गर्ने डरलाग्दो तथ्याक रहेको भन्दै नेपाल पनि खतराको अवस्थामा देखिएको उनले बताए । आत्महत्या कमजोरी नभई आफनो मनमा रहेका पिडाहरु खोल्न नसक्दा ब्यक्ति त्यो निर्णयमा पुग्ने उनले दाबी गरे । एउटा शब्दले मात्र पनि आत्महत्या गर्ने सोच बनाएको ब्यक्तिलाई रोक्न सकिने उनले तर्क दिदै समाजमा यो विषय बुझाउने गरि सचेतना कार्यक्रम निरन्तर चलाउन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा मनोरोग विशेषज्ञ डा बिक्रम काफ्ले, डा अनमोल बन्धु कार्की, क्लबका संस्थापक अध्यक्ष बिनित भट्टराई, एरिया ४ का सचिव राजु भण्डारी, क्लबका निर्वतमान अध्यक्ष विष्णु प्रसाद गौतम, क्लबका सचिव प्रकाश क्षेत्रीले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच तथा व्यवहारमा आउने परिवर्तन सम्बन्धी महत्वपूर्ण जानकारी एवं सचेतना अभिवृद्धि गर्नेलाई निरन्तरता दिन जरुरी रहेको बताए । कार्यक्रममा सहभागी चिकित्सक, साईकल यात्री र सहयोगीदाताहरुलाई लायन्स डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले सेवापिनबाट सम्मान गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष श्रीधर पोखरेलले सिग्नेचर परियोजना अन्तरगत मानसिक स्वास्थ्य अभियान चलाएको बताए ।





















