बुटवल, ८ भदौ । नृत्य प्रतिभाको खोजी तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘रिभोलुसन अफ डान्स’ को उपाधि मुस्कान श्रेष्ठले जितेकी छन् । शनिबार भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट नृत्य प्रस्तुतिसहित श्रेष्ठले विजेताको उपाधि हात पारेकी हुन् । उपाधिसँगै उनले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगितामा पूर्णिमा पन्थ प्रथम रनरअप तथा दृश्यम दर्नाल द्वितीय रनरअप बने । प्रथम रनरअप पन्थले ३३ हजार ३ सय ३३ रुपैयाँ र द्वितीय रनरअप दर्नालले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेताको पुरस्कार लिलबहादुर थापाले प्रायोजन गरेका थिए । प्रथम रनरअपको पुरस्कार मिलन एसके र राजकुमार बस्नेत भ्लग्सले तथा द्वितीय रनरअपको पुरस्कार गुड डु भेज एन्ड द भेजन किचेनका श्रेष्ठ मनोजले प्रायोजन गरेका थिए ।
प्रतियोगितामा निर्णायकका रूपमा अविनाश हमाल ठकुरी सहभागी थिए । आयोजकले उनको अनुभव, मूल्याङ्कन र समयले प्रतियोगितालाई थप प्रभावकारी बनाउन सहयोग पुगेको जनाएको छ ।
‘रिभोलुसन अफ डान्स’ केवल प्रतिस्पर्धा नभई कलाकारको मेहनत, जोश, प्रतिभा र सपनालाई मञ्च प्रदान गर्ने अभियानका रूपमा आयोजना गरिएको नेशन डान्सका सञ्चालक साजन गुरुङले बताए । डि–रेन डान्स स्टुडियोको आयोजनामा असार ६ गते अडिसन शुरु भई विभिन्न चरण हुदै फिनाले सम्पन्न भएको छ ।





















