Spread the love

बुटवल, ८ भदौ ।
बुटवलका मुस्लिम समुदायले धर्मगुरु हजरत मोहम्मदको जन्मदिनमा विविध सामाजिक कार्यक्रम गरि मनाएका छन । धर्मगुरु हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लहको १५०१ औ जन्मोत्सव मदिना मदरसा मस्जिद प्रबन्ध परिषदले सोमबार बुटवल मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम गरि औपचारिक शुभारम्भ गरेको हो ।

कार्यक्रममा मदिना मदरसा मस्जिद प्रबन्ध परिषदका संरक्षक हाजी जमाल मियाले सबै धर्महरुको सार गरिब र दिनदुखीको सेवा गर्नु नै भएको बताए । धर्मगुरुको जन्मदिनमा आफुहरुले यो आश्रमलाई छनौट गरेर सबैभन्दा उत्तम कार्य गरेको दाबी गरे । आश्रम स्थापनामा समेत आर्थिक सहयोग गरेको उनले स्मरण गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा परिषदका अध्यक्ष हाजी सकुर मियाले बुटवलमा सबै धर्म र जातीका बिचमा भाईचाराको सम्बन्ध रहेको भन्दै हरेक विषयमा एक भएर उभिदै आएको बताए । यहा हुने हरेक जसो विकास र सामाजिक अभियानमा आफुहरुले साथ दिदै आएको उनले बताए ।

मानव सेवा आश्रमका संरक्षक शेर बहादुर गौतमले बुटवलमा करीब ८ वर्षअघि आश्रम स्थापना गरि सेवा शुरु भएको बताए । नेपालमा सामाजिक अभियन्ता रामजी अधिकारीको परिकल्पनामा आश्रम स्थापना भएको उनले बताए । मानसिक समस्याका कारण परिवारबाट बिछोड भएर सडकमा भौतारिरहेकाहरुलाई आफुहरुले सेवा गरि कतिपय ठिक भएकालाई परिवारकै जिम्मा लगाउने काम समेत गरेको उनले बताए । समाजसेवीहरुको सहयोगबाट अहिले आश्रममा ६० जना माताहरुलाई सेवा दिदै आएको उनले बताए ।

कार्यक्रमका संयोजक एन्जिल खानले सामाजिक उत्तरदायित्व सहित २ दिने कार्यक्रम गरि जन्मदिन भब्य रुपमा मनाउने लागेको बताए । आश्रममा खाना खुवाउने कार्यक्रमसंगै दिवस शुरु भएको भन्दै साझ नन्दिनी गौशालामा गौआहार वितरण समेत गरिने बताए ।

कार्यक्रममा परिषदका सचिव सबर मियाले मंगलबार बिहान मस्जिदमा वृहत रक्तदान र धर्मगुरुको स्मरणमा पाठ समेत गरिने कार्यक्रम रहेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्