काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले नेपालको मौसममा सामान्यदेखि आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशका पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा सामान्यतया बदली रहेको छ भने मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आज राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली तथा तराई भू–भागमा आंशिक बदली रहनेछ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



















