काठमाडौं,३ भदौ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।
शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, माध्यमिक तह (कक्षा ९–१०) मा अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब अब माध्यमिक तृतीय श्रेणी सरह हुनेछ ।त्यस्तै, आधारभूत तह (कक्षा ६–८) मा अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम हुनेछ ।
त्यस्तै, सरकारले प्रारम्भिक बालविकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक पनि ५ हजारका दरले वृद्धि गर्ने निर्णय गरेको छ ।निर्णयअनुसार अब संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ ।यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार (ईसीडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ ।



















