काठमाडौं । सरकार आफ्ना मागप्रति उदासीन बनेको आरोप लगाउँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ । संघले कार्यालय बन्दसँगै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ ।
संघको यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकेको थियो । श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानका लागि दिइएको समयसीमा समेत सकिएपछि पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भइसकेका श्रमिकलाई उडानमा पठाउन एक साताअघि नै सूचना जारी गरिएको थियो । आज राति १२ बजेसम्म प्रक्रिया पूरा गरी उडानको तयारीमा रहेका श्रमिकलाई पठाइने भए पनि त्यसपछि भिसा र श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको समेत उडान रोकिने उनले बताए ।
संघका अनुसार भोलिदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका सबै म्यानपावर कम्पनी तथा शाखा बन्द रहनेछन् । नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक कामसमेत ठप्प हुने संघले जनाएको छ । श्रम मन्त्रालयको टोलीसँग शुक्रबार प्रारम्भिक छलफल भए पनि व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको संघको भनाइ छ ।
संघका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख छ ।
संघले आफ्ना मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने जनाएको छ । यद्यपि सरकारसँग वार्ता र संवादका लागि भने ढोका खुला रहेको संघले स्पष्ट पारेको छ । आन्दोलनका क्रममा आफ्ना सदस्य संस्थालाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्नसमेत संघले निर्देशन दिएको छ।



















