बुटवल, ३१ साउन ।
रुपन्देही उद्योग संघले संघमा आवद्ध उद्योगी तथा व्यवसायीहरूका लागि अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी प्रशिक्षण दिएको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले व्यवसाय सञ्चालनका क्रममा मूल्य निर्धारण, मूल्यसूची तथा उत्पादनमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा बताए । उद्योग व्यवसायको विकाससँगै व्यवसायीहरूले विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाको पालना गर्न आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रशिक्षणबाट उद्योगी व्यवसायीलाई व्यवहारिक रूपमा थप सक्षम बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वाणिज्य विभागका विषयविज्ञ अमित झाले अधिकतम खुद्रा मूल्यसम्बन्धी प्रशिक्षण तथा सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा एमआरपीको अवधारणा, वस्तुको मूल्य निर्धारण तथा उपभोक्तालाई मूल्यसम्बन्धी स्पष्ट जानकारी उपलब्ध गराउने विषयमा जानकारी दिइएको थियो । प्रशिक्षक झाले वस्तु तथा सेवाको मूल्य निर्धारण गर्दा सम्बन्धित कानुनी व्यवस्था र मापदण्डलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उत्पादन तथा बिक्री–वितरणका क्रममा मूल्य पारदर्शिता कायम गर्नुपर्ने बताए । उनले उत्पादनको प्याकेजिङ तथा लेबलमा मूल्यसम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख गर्ने, उपभोक्तालाई वास्तविक मूल्यबारे जानकारी गराउने तथा व्यवसाय सञ्चालनका क्रममा प्रचलित नियमको पालना गर्ने विषयमा समेत सहजीकरण गरेका थिए ।
कार्यक्रममा रुपन्देही उद्योग संघसँग आबद्ध उद्योगी व्यवसायीहरूले एमआरपी कार्यान्वयन, मूल्य निर्धारण, बजारमा देखिने व्यवहारिक समस्या तथा उद्योग व्यवसायमा पर्ने प्रभावका विषयमा जिज्ञासा राखेका थिए । सहभागीका प्रश्न तथा जिज्ञासामाथि प्रशिक्षक झाले सम्बन्धित विषयमा स्पष्ट पार्दै व्यवहारिक समाधानका उपायबारे जानकारी दिएका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, संघका महासचिव सुमन बस्यालले उद्योगी व्यवसायीलाई अधिकतम खुद्रा मूल्यसम्बन्धी प्रचलित व्यवस्था, मूल्य पारदर्शिता र उपभोक्ता अधिकारबारे सचेत गराउँदै व्यवसाय सञ्चालनमा देखिने व्यवहारिक अन्यौलता हटाउने गरि कार्यक्रम गरिएको बताए ।



















