काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा, नेपालको नजिक रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ।
बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा, बागमती र गण्डकीका तराईका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा, बागमती र गण्डकीका तराईका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






















